समाचार प्रभाव: सार्वजनिक जग्गाको लालपुर्जा बनाएर बेच्ने तयारी गरेको खुलासापछि स्थानीय जुटे संरक्षणमा
बुटवल: तिलोत्तमा नगरपालिका वडा नं ६ स्थित आनन्दवन सामुदायिक वनको मातहतमा रहेको सार्वजनिक जग्गाको लालपुर्जा बनेको घटना सार्वजनिक भएपछि स्थानीयले संरक्षणका लागि सक्रियता देखाएका छन्। तिलोत्तमा- ६ को हरपुरमा पर्ने साविक आनन्दवन ७ ख को कित्ता नं १४०, १४३ र कित्ता नं २१३ को सार्वजनिक जग्गा तिलोत्तमाको शंकरनगरका शान्तकुमार कार्की र अञ्जना थापा क्षेत्रीले संयुक्त रूपमा दर्ता गरेर बेचबिखनको तयारी गरिरहेको समाचार उकेरा डटकमसहित केही सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए।
समाचार सार्वजनिक भएसँगै तिलोत्तमा नगरपालिका- ६ का वडा अध्यक्ष, स्थानीय हरियाली टोल विकास संस्था र आनन्दवन सामुदायिक वन लगायतका संस्थाका प्रतिनिधिहरूले सार्वजनिक जग्गाको लालपुर्जा बनाउनेहरूलाई कारबाहीको माग गर्दै उजुरी तथा ज्ञापनपत्र बुझाएका छन्।
‘हाम्रो वडामा रहेको आनन्दवन सामुदायिक वनभित्र पर्ने प्रति जग्गा शंकरनगरका शान्तकुमार कार्की, अन्जना थापा क्षेत्रीले आनन्दवन ७ ख को कित्ता नं १४०,१४३ र २१३ तथा देवकुमार आले र तुल्सीराम भण्डारीले कित्ता नं १५५ नम्बरको जग्गा लालपुर्जा बनाएर बेच्न थालेको पाइएकोले उनीहरूलाई कारबाहीको माग गर्दै उजुरी दिएका हौँ’, वडा अध्यक्ष गणेश पाठकले भने।
वडाअध्यक्ष पाठकसहित पुगेको स्थानीयको टोलीले सार्वजनिक जग्गाको लालपुर्जा बनाई हडप्न खोज्ने चार जनासहित त्यसमा संलग्नहरूको अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरी दर्ता गरेको आनन्दवन सामुदायिक वनका पूर्व अध्यक्ष अर्जुन उपाध्यायले बताए।
‘हामीले अख्तियारमा उजुरी दिएपछि जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यालय, मालपोत, नापी, सेक्टर वन कार्यालय बुटवलमा समेत जग्गा हडप्नेहरूको अनुसन्धान गरी कारबाही गर्न र उक्त लालपुर्जा बदर गर्न ज्ञापनपत्र दिएका छौँ’, उपाध्यायले भने।
शिक्षक नै भू-माफिया, सार्वजनिक जग्गा दर्ता गरी बेचबिखन गर्ने तयारी गरेपछि मालपोतले लियाे नियन्त्रणमा
सुकुम्बासी आयाेगले नबाँडेकाे बुटवलको ११ कठ्ठा ५ धुर सार्वजनिक जग्गा कसरी पुग्याे व्यक्तिको नाममा?
माघ २२, २०७९ आइतबार ०८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।