बानेश्वरमा बाबु-छोरी मृत फेला परे, छोरीको हत्यापछि बाबुको आत्महत्याको शङ्का

बानेश्वरमा बाबु-छोरी मृत फेला परे,  छोरीको हत्यापछि बाबुको आत्महत्याको शङ्का

काठमाडौं : काठमाडौं बानेश्वरको एक घरमा शनिवार साँझ बुवा-छोरी मृत अवस्थामा भेटिएका छन्। काठमाडौं महानगरपालिका-१० मा रहेको टङ्कप्रसाद मार्गको एक घरमा बुवा झुन्डिएको अनि छोरी घाँटी रेटिएको अवस्थामा भेटिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भएका अन्दाजी ३६ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत अवस्थामा भेटिएका हुन्।

घटनास्थलको अवस्थाको आधारमा प्रहरीले बाबुले छोरीको हत्या गरेर आफूले आत्महत्या गरेको शङ्का गरेको छ।

भण्डारीको श्रीमती र छ महिने छोरा समेत छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा शारीरिक अवस्था कमजोर रहेकी छोरीका कारण उनी तनावमा देखिएका छन्। उनको सुसाइड नोटमा पनि त्यही उल्लेख गरेका छन्।

भण्डारीले शनिवार बिहान श्रीमती र छोरालाई आफन्तको घरमा पठाएका थिए।  श्रीमती र  छोरा पेप्सिकोलास्थित आफन्तकहाँ गएपछि उनले छोरीको हत्या गरेर आफूले आत्महत्या गरेको देखिएको छ।

श्रीमती घर फर्किएपछि ढोका भित्रबाट चुकुल लगाएको र ढकढक्याउँदा नखोलेपछि स्थानीयको सहयोगमा कोठा खोलेर हेर्दा छोरीको घाँटी रेटिएको र श्रीमान् शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको हो।

घटनास्थलमा फेला परेको भण्डारीको  सुसाइड नोटमा छोरीको विषयमा चिन्ता गर्दै ऋण लगायतको घरायसी व्यवहारबारे लेखिएको छ।

माघ २१, २०७९ शनिबार २३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।