प्रतिपक्षी दलले आइतबार राष्ट्रिय सभा उपाध्यक्षको टुङ्गो लगाउने
काठमाडौं: सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन्। सिंहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान बसेको कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सम्मिलित बैठकले उम्मेदवारी आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो।
कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सङ्घीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताए। उनले भने, “उम्मेदवारीका सम्बन्धमा एकसरो कुराकानी र विश्लेषण आज भएको छ, आइतबार बिहानसम्ममा यस सम्बन्धमा हामी निर्णय गर्छौँ।”
उपाध्यक्षका लागि आइतबार मनोनयन र सोमबार निर्वाचन हुँदैछ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष र अरू पदका सम्बन्धमा के–कसो गर्ने भन्नेबारे छलफल भएको बताए। उनले भने, “सबैपक्षको कुरा बुझेर एउटा टुङ्गोमा पुग्ने भन्ने भएको छ। कसैले पनि हामीलाई चाहियो भनेर मागेका छैनन्। व्यक्तिले माग्ने एउटा कुरा भयो, राजनीतिक दल विशेष कसैले पनि भनेका छैनन्। विकसित परिस्थितिका आधारमा बसेर टुङ्गोमा पुग्छौँ।”
माघ २१, २०७९ शनिबार १३:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।