माधव नेपालको प्रतिवेदनमा एमाले दक्षिणपन्थी अवसरवादी, कांग्रेस दलाल पुँजीपतिको हित प्रतिनिधित्व गर्ने पार्टी

काठमाडौं: प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि पहिलो पटक बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। उनको प्रतिवेदनमा देशका राजनीतिक दलहरूको चरित्र चित्रण गरिएको छ।
'अहिले मुलुकको राजनीतिक रङ्गमञ्चमा विभिन्न खाले राजनीतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण अँगालेका र विभिन्न चरित्र भएका राजनीतिक शक्तिहरू क्रियाशील छन्। ती राजनीतिक शक्तिहरू संसद्भित्र समेत क्रियाशील छन् भने केही संसद्बाहिर मात्रै क्रियाशील छन्', प्रतिवेदनमा भनिएको छ, 'संसद्बाहिर खासगरी विप्लव समूह, वैद्य समूह आदि कम्युनिष्ट आन्दोलनभित्रका केही घटकहरू रहेका छन्। संसद्भित्र अनेक चरित्रका राजनीतिक दलहरू क्रियाशील छन् ।'
प्रतिवेदनमा नेपाली कांग्रेसलाई पुँजीपति वर्ग चरित्रको पार्टी भनिएको छ। '...नेपाली कांग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी हो। नव उदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ। तथापि यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ', प्रतिवेदनमा भनिएको छ।
यस्तै एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी भएको एकीकृत समाजवादीका अध्यक्ष नेपालको ठहर छ। एमालेको वर्ग अडान समेत स्पष्ट नभएको नेपालले प्रतिवेदनमा लेखेका छन्।
'दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्त्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ। यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन। विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ', प्रतिवेदनमा उल्लेख छ।
यस्तै माओवादी केन्द्रलाई भने ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी भनिएको छ। माओवादीको पनि वर्ग अडान स्पष्ट नभएको नेपालको प्रतिवेदनमा भनिएको छ।
'सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिँदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ। यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ तर सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ', राजनीतिक प्रतिवेदनमा नेपालले भनेका छन्।
नेपालको राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभाको नवप्रवेशी दल राष्ट्रिय स्वतन्त्र पार्टीका बारेमा पनि उल्लेख छ। रास्वपालाई पनि नेपालले पुँजीपति वर्ग चरित्रको पार्टी भनेका छन्।
रास्वपाको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको उनले बताएका छन्।
'संविधानवादको कुरा गरे पनि गणतन्त्र र सङ्घीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन। यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो। सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने गर्दछ। यसले पनि त्यही भूमिका निर्वाह गर्दैछ', नेपालले भनेका छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको सवालमा यो सामन्ती र दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टी भएको उल्लेख छ। समाजमा अवशेषको रूपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि रहेको बताइएको छ।
'यो संविधान, गणतन्त्र र सङ्घीयता विरोधी पार्टी हो। यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनःस्थापना गर्न चाहन्छ', उनले भनेका छन्।
जनता समाजवादी पार्टी भने प्रजातान्त्रिक समाजवादी सिद्धान्त अँगालेको पार्टी रहेको नेपालको ठहर छ।
'मुख्यतः मधेश प्रदेशमा प्रभाव राख्ने यो पार्टी मधेशको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो। यो संविधान, गणतन्त्र र सङ्घीयताप्रति प्रतिबद्ध रहेको छ', उनले भने।
सिके राउत नेतृत्त्वको जनमत पार्टीलाई भने नेपालले यसरी व्याख्या गरेका छन्- '...विगतमा मधेशलाई नेपाली उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनु पर्दछ भन्ने पृथकतावादी सोच अँगालेको पार्टी हो तर अहिले संविधान मान्ने र त्यस अन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको छ। यो पार्टी गणतन्त्र र सङ्घीयताप्रति प्रतिबद्ध रहेको छ।'
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकार गठनका लागि नभएर सहमतिकै आशयले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पनि बताइएको छ। यस्तै देशलाई सहमतिको मार्गमा डोऱ्याउने कि नडोऱ्याउने जिम्मा अब माओवादी केन्द्र र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को हातमा रहेको उल्लेख छ।
माघ २१, २०७९ शनिबार १२:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।