रास्वपाको दुईदिने अल्टिमेटम आजसम्म, ओली र प्रचण्ड छलफलमा

रास्वपाको दुईदिने अल्टिमेटम आजसम्म, ओली र प्रचण्ड छलफलमा

काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा भेटघाट भएको छ। गृह मन्त्रालयको विषयलाई लिएर दुई शीर्ष नेताबीच छलफल भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय आफूले पाउनेपर्ने भन्दै दुईदिने अल्टिमेटम दिएको थियो। अल्टिमेटम आज सकिँदैछ।

आजभित्रमा गृह मन्त्रालयबारे निर्णय गरी रास्वपालाई नदिएको खण्डमा समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने उसको तयारी छ।

यता प्रधानमन्त्री प्रचण्ड भने गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा देखिँदै आएका छन्। ओली भने पहिलेको सहमतिअनुसार रास्वपालाई नै गृह मन्त्रालय दिनुपर्ने भन्दै वकालत गर्दै आएका छन्।

आजको भेटमा पनि सत्ता गठबन्धनलाई बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ। यसअघि गठबन्धनमा सङ्कट देखिन थालेपछि राप्रपाले समेत केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको थियो।

सर्वोच्च अदालतले रास्वपाका तत्कालीन सभापति र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध भएको फैसला गरेको थियो। त्यसपछि उनी पदमुक्त भएका थिए।

उनले हाल नागरिकता पुनः प्राप्त गरे पनि दोहोरो राहदानीको सवालमा भने प्रहरी अनुसन्धान जारी छ। साथै अवैध नागरिकताबारे फैसलाको पूर्णपाठ पनि नआएकाले रास्वपालाई गृह मन्त्रालय नदिने प्रचण्डको आशय छ।

माघ २१, २०७९ शनिबार १०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।