श्रीलङ्काका प्रधानमन्त्री र परराष्ट्रमन्त्री पौड्यालबीच भेट

श्रीलङ्काका प्रधानमन्त्री र परराष्ट्रमन्त्री पौड्यालबीच भेट

काठमाडौं: परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेबीच शिष्टाचार भेट भएको छ। श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन्।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

सो अवसरमा श्रीलङ्काका प्रधानमन्त्री गुणबर्द्धनेले नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको उल्लेख गर्दै आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका आफ्ना समकक्षी एमयूएम अली सब्रीसँग भेट गरेकी थिइन्।

शुक्रबार नै उनी श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रममा सहभागी भएकी थिइन्। परराष्ट्रमन्त्री पौड्याल आज बिहानै श्रीलङ्काको स्वतन्त्रता दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी भइन्।

उनले आज दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्नेछिन्।

माघ २१, २०७९ शनिबार ०९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।