ह्विलचेयर बास्केटबल प्रतियोगिता: विजेता बन्यो पोखरा महानगर

पोखरा: प्रथम पुरुष तथा महिला ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगरपालिकाको टिम विजेता बनेको छ। शुक्रबार पोखरा महानगरपालिका खेलकुद विकास समितिले पोखरा रङ्गशालाको बास्केटबल कोर्टमा आयोजना गरेको प्रतियोगितामा आयोजक महानगरकै टिम विजयी भएको हो।
प्रतियोगितामा हरियोखर्क अस्पतालको टिम दोस्रो र महिला–पुरुष सहभागी मिक्स टिम तेस्रो भए। चार टिम सहभागी भएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र सात हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए।
अपाङ्गता खेलकुद समाज, कास्कीको टिमले सान्त्वना पुरस्कार स्वरूप तीन हजार पाँच सय रुपैयाँ र प्रमाणपत्र पाएको छ।
पोखरा महानगरपालिकाको टिमका भरत बानियाँले सर्वाधिक आठ स्कोर गर्दै सर्वाधिक स्कोररको ट्रफी र प्रमाणपत्र पाउन सफल भए। हरियोखर्क अस्पतालका सुरेश गौली 'म्यान अफ द म्याच' घोषित भए। उनले पनि ट्रफी र प्रमाणपत्र पाए।
माघ २१, २०७९ शनिबार ०७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।