लुम्बिनीमा हुने राम कथा तीन दिन पछि सर्यो, भण्डारा भने शनिबारबाटै सञ्चालन हुने

लुम्बिनीमा हुने राम कथा तीन दिन पछि सर्यो, भण्डारा भने शनिबारबाटै सञ्चालन हुने

बुटवल: बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबारदेखि हुने भनिएको 'राम कथा प्रवचन' तीन दिन पछि सरेको छ। आयोजक राम कथा प्रेम यज्ञ समितिले माघ २४ गते मङ्गलबारदेखि प्रवचन कार्यक्रम हुने जनाएको छ।

यही माघ २१ देखि २९ गतेसम्म लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने भनिएको प्रवचन माघ २४ गतेलेखि फागुन ३ गतेसम्म आयोजना हुने गरी तयारी भएको आयोजकले जनाएको छ। कथा आयोजक समितिले सञ्चालन गर्ने भण्डारा भने पूर्ववत रूपमा २१ गते शनिबारबाट नै सञ्चालमा आउने बताएको छ।

नौ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका दुई हजार बढी श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेशकुमार अग्रवालले जानकारी दिए। लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको कार्यक्रममा आध्यात्मिक गुरु मोरारीको ९१२ औँ राम कथा आयोजना हुन लागेको हो।

‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थस्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका छन्।

अभियान अन्तर्गत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा राम कथा प्रवचन सम्पन्न भइसकेको छ। नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा कार्यक्रम आयोजना गरिएको हो।

यसअघि सन २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो। यसैगरी काठमाडौं र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत राम कथा वाचन भइसकेको छ।

लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा विरुवा लगाउने कार्यक्रम भएको संयोजक अग्रवालले जानकारी दिए।

यसअघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो। कार्यक्रमलाई चर्चित भारतीय धार्मिक टेलिभिजन च्यानल 'आस्था'बाट १७० बढी देशमा प्रत्यक्ष प्रशारण गरिने व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि विकास केडियाले जानकारी दिए।

कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सीमावर्ती भारतीय शहर तथा गाँउहरूबाट समेत कथा श्रवणका लागि सर्वसाधारणलाई निम्तो गरिएको छ।

कार्यक्रममा पहिलो पटक लुम्बिनीमा प्रवचन सुन्नका लागि आउनेहरू आधाभन्दा बढी हुने आयोजकको दावी छ। यो कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

माघ २१, २०७९ शनिबार ०७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।