विज्ञहरू भन्छन्- नेपालकाे हवाई क्षेत्र सुरक्षित छ

काठमाडाैं : विज्ञ तथा सराेकारवालाहरूले मुलुकको हवाई क्षेत्र सुरक्षित रहेकाे बताएका छन्।
वायुसेवा सञ्चालक सङ्घले ‘हवाई क्षेत्रमा देखिएका समसामयिक विषय’ मा आयोजना गरेको अन्तरक्रियाका वक्ताहरूले हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो भएकाे बताएका हुन्।
सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको भन्दै केही भवितव्यका रूपमा हुने दुर्घटनालाई लिएर समग्र हवाई सेवा असुरक्षित रहेको सन्देश प्रवाह नगर्न अनुरोध गरे।
उनले भने, 'नेपालको ‘एभिएसन सेक्टर’ धेरै सुरक्षित छ। हवाई दुर्घटना न्यूनीकरणका लागि नियामक र एयरलाइन्स अपरेटर उत्तिकै जिम्मेवार भएर लागेका छन्।'
क्याप्टेन थापाले नेपालको हवाई क्षेत्र देशको अर्थतन्त्रको धरोहर रहेको र पर्यटन विकास समेतमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले विश्वकै सुरक्षित यातायातको रूपमा लिइने हवाई यातायातलाई सुरक्षित र मजबुद तुल्याउन सबै संयन्त्रले सक्रियतापूर्वक काम गरिरहेको विश्वास व्यक्त गरे।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उडान सञ्चालन विभागका निर्देशक श्यामकिशोर साहले हवाई यातायातलाई सुरक्षित र विश्वसनीय तुल्याउन संस्थागत क्षमता अभिवृद्धि र पाइलटलाई आवश्यक तालिमको जरुरी रहेको बताए। उनले हवाई यात्रा तुलनात्मक रूपमा बढी सुरक्षित रहने भएकाले यो क्षेत्रप्रति नकारात्मक टीकाटिप्पणी गर्न नहुने तर्क गरे।
हवाई इन्जिनियरिङ क्षेत्रका जानकार मेघेन्द्रकुमार श्रेष्ठले सुरक्षित हवाई उडानका लागि अनेकन प्रयास गर्दा पनि दुर्घटना दर बढ्नु आश्चर्यको विषय भएको बताए। उनले कुनै पनि जहाज पुरानो भएर वा अन्य प्राविधिक खराबीले मात्रै दुर्घटनाको जोखिम नरहेको भन्दै संस्थागत संरचनादेखि हरेक विषय हवाई सुरक्षासँग सरोकार राख्ने धारणा राखे।
उनले भने, 'जहाज थोत्रा भएर दुर्घटना हुने होइन। जहाज उडानयोग्य छ कि छैन त्यो जहाजको आयुमा निर्धारण हुँदैन। इन्जिन, उपकरण, पार्टपुर्जा समय समयमा फेर्ने, मर्मतको काम निरन्तर भइरहेको हुन्छ।'
क्याप्टेन विनोद पुरीले हवाई दुर्घटनामा कुनै एउटा पक्षलाई मात्र दोष दिएर नहुने भन्दै यो प्रक्रियामा सबै प्रणालीको कतै न कतै भूमिका रहने बताए। हवाई सुरक्षालाई बलियो र भरपर्दो बनाउन यो क्षेत्रमा संलग्न सबै सरोकारवाला उत्तिकै जिम्मेवार बन्नुपर्नेमा उनकाे जाेड थियाे।
माघ २०, २०७९ शुक्रबार २१:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।