कार्यकर्ताको भावनाबमोजिम राष्ट्रपतिमा लड्न चाहन्छु : शुक्रराज शर्मा

काठमाडौं : नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टी पंक्तिले जिम्मेवारी दिए राष्ट्रपतिमा जित्नेगरी लड्न तयार भएको बताएका छन्।
शुक्रबार विहान सोल्टीमोडस्थित निवासमा कांग्रेस नेताहरूसँगको छलफलपछि अवसर दिएको खण्डमा राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि बढ्न तयार रहेको शर्माले बताएका हुन्।
छलफलमा सहभागी नेताहरूले राष्ट्रपतिमा स्वच्छ छवि भएको नेतृत्व अपरिहार्य भएकोले कांग्रेसका पुराना नेता शर्मालाई अघि बढ्न आग्रह गरेका थिए।
उक्त आग्रहपछि शर्माले त्यस कुरालाई आफूले गम्भीरता साथ लिएको बताएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।
शर्माको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘साथीहरूले आग्रह गरिरहनुभएको छ। म सत्तामा कहिल्यै नभए पनि आम कार्यकर्ताको विश्वास अझै छ। पार्टी पङ्क्तिले पनि शुक्रराज दाइ अघि बढ्नुस् भने नाइ भन्ने कुरा हुँदैन।’
संसदीय निर्वाचनमा जीतविहीन शुक्रराज कांग्रेसको अघिल्लो पुस्तामा सत्ता यात्रा नगरेका एक मात्र नेताका रूपमा चिनिन्छन्।
माघ २०, २०७९ शुक्रबार १६:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।