सर्वनामको ‘लाटो’ गाथा
कान्तिपुर गाथा : यो स्तम्भ राजनीतिको अनन्त अल्झोमा अलमलिएको धेरै भइसक्यो। यसले सामाजिक गतिविधिका कम्पनहरू नाप्न नपाएको धेरै भयो। म आफैँलाई अहिलेको समय उच्चाटलाग्दो लाग्न थालेको छ। त्यसैले पनि, यो साता म एकदमै अलग विषय प्रस्तुत गर्ने कोशिश गर्दैछु। मेरो कम्प्युटरमा निकै समयदेखि अलमलिएको थियो एउटा नेपाली केटो। उसको कथा देश–काल–परिस्थिति अनुरूप होला कि? यो मेरो आशा हो।
अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको मात्र सर्वनाम हुन्छ। जाँच्नका लागि आधिकारिक व्याकरण पनि छैन हातमा। सामान्य सिध्दान्त हो, जसको नाम नै छैन त्यसको कसरी हुन्छ सर्वनाम?
उसको कुनै नाम छैन। तै पनि अहिलेका लागि हामी उसलाई सर्वनामका आधारमा नै चिनौं। उसको जन्म उसका बाआमा गरीबीको दकसमा परेको बेला भएको थियो। मरिचे र उसकी स्वास्नीले जन्मेको बच्चोको विधि विधान अनुसार, न्वारानसमेत गर्न पाए कि पाएनन्? यसमा शंका नै छ। पाएका भए न्वारानको दिन पूजापाठ गर्ने र होम हाल्ने पुरेत बाजेले कुनै नाम जुराइ दिएका थिए होलान पक्कै।
विस्तारै यही नाम जीवनभरीका लागि स्थापित होला जस्तो छ। मरिचेको छोरो! बडो फोटोजेनिक नाम भयो यो त! बाबुको नाम मरिचे र छोराको नाम मरिचेको छोरा।
राम्रो नराम्रो कस्तो नाम राखेका थिए? यो चाहिँ चलन चल्ती अनुसार, दक्षिणाको वजनका आधारमा निर्धारित हुन्थ्यो होला। जजमानी पुरेतहरूको पेशा हो। पेशामा कतै न कतै कुनै गडबडी भइ रहेकै हुन्छ। काटेको ठाउँमा एक थोपा पिसाब चुहाइदेउ भन्दा त कोही तयार नहुने देशमा पैसो नभइ नाम त कसले त्यत्तिकै दिन्थ्यो र?
भन्न सकिन्छ, न्वारान नै नहुने त कहाँ होला र? जतिसुकै गरीब भए पनि परम्परा त जोसक्दो धान्नै पर्दछ। त्यसैले उसको न्वारान पक्कै भयो होला भन्ने मान्यता छ गाउँमा। मरिचे कस्तो नागरिक परेछ कि उसको घरमा न्वारान–श्राद्धको कुरा समेत गाउँका सबैले बिर्सिने। बरु यसो भयो होला, पुरेत बाजेले बा–आमालाई बताएका त्यो नाम बा–आमाले उत्ति नै बेला बिर्सिए होलान्।
अहिले मरिचे र उसकी स्वास्नीले सम्झिन सकेनन्। पुरेत बाजे मरिसके। कस्तो अनौठोः पुरेत बाजे सँगसँगै बच्चाको नाम पनि मर्यो। त्यो बेलादेखि नै ऊ ‘सर्वनाम’को आधिपत्यमा रहँदै आएको छ। सर्वनाम अर्थात ऊ, तँ, ओइ।
यो त्यतिखेरको कुरा हो, जतिबेला उसलाई कुनै नाम चाहिएको थिएन। बाख्रा चराउन जान, पखेरामा चिप्लेटी खेल्न र जंगलमा चरा मारेर, तरुल खोस्रेर, खहरेको डीलमा पसारिएको चिप्लो ढुंगामा नून खुर्सानी पिसेर त्यसमा पोलेको चरा र तरुल चोपेर खान किन चाहियो नाम? नाम त भर्तीमा जान, स्कूलमा भर्ना हुन, जागीर खान पो चाहिन्थ्यो।
भर्तीमा जाने उमेर भएको थिएन उसको। स्कूल भर्ना हुनु पनि थिएन। जागीर खानु पनि थिएन। कुनैदिन भर्ती जाने र स्कूल पढ्ने भाग्य खुल्यो भने अथवा जागीरमा लाग्ने मौका मिल्यो भने खोजौँला नि एउटा नाम। अहिलेसम्म त बाबुको नामैले उसको अस्तित्वलाई कीर्तिमय बनाएको छ– मरिचेको छोरा।
विस्तारै यही नाम जीवनभरीका लागि स्थापित होला जस्तो छ। मरिचेको छोरो! बडो फोटोजेनिक नाम भयो यो त! बाबुको नाम मरिचे र छोराको नाम मरिचेको छोरा। कस्तो लय मिलेको।
वनमा पाइने निगुरो, कुथुर्के र अरु जातका तरकारी कुुन खान हुने हो र कुन विषालु हो? मरिचेको छोरो सबै बोट–बिरुवा चिन्थ्यो।
मरिचेको छोरा नै भनौं। तै उसको भाग्य खुल्यो। यो कसैले सपनामा पनि नसोचेको कुरा थियो। उसलाई उसका जीजीबाले पढाउने भए। जीजीबा भनेका उसका बाका जीबा। त्यसैले हुनुपर्दछ, पछिल्लो समयमा उसले धेरैजसो आफ्ना जीजीबालाई सम्झिन थालेको थियो। अहिले पनि सम्झिरहन्छ। बूढाको चिउँडोमा लामै दाह्री थियो, निकै आकर्षक। घरमा पालेको कत्ले बोकाको दाह्रीसँग ठ्याम्मै मिल्थ्यो जीजीबाको दाह्री। छेउछेउबाट स–साना रौंहरूले घेरिदै गएका, त्यसपछि अलिकति ठूला, त्यसपछि अझ अलिकति ठूला, फेरि ठूला र त्यसपछि लामा–गालाको तहसम्मै तमाखुको कशले कैलिएका र तलसम्मै लमतन्न लर्केका रौंहरू। जुँगा चाहीँ गन्नै सकिने। ‘गन्नै सकिने’ भन्नु त भनाइ मात्रै होला। त्यसमा पनि, भरखर स्कूल जाने तयारीमा लागेको मरिचेको छोरालाई गन्न कहाँबाट आओस्।
उ जीजीबाले भनेका सबै कुरा रिट्ठो नबिराइ सम्झिन्छ। जीजीबा भन्ने गर्दथे, ‘हामी यो पृथ्वीको गर्भमा रहेको कमलो माटोमा टुसाएका हौं। यही माटोमा विरुवा बनेर पल्हाएका हौँ। पृथ्वी हाम्रो रगत, मासु, बोसो, रौं र छालाले बनेको आत्म–स्थान हो। हामी पृथ्वीका पसिनाले पग्लिएर गीलो भएको माटोबाट मानिस बनेका हौं। मैले यो उता हिन्दूस्तान–बर्मादेखि पूर्व आसाम–सिलौंग र लाहोर–कलकत्तासम्म, चौधै भुवन चाहारेर पाएको ज्ञानगुन भनेको यत्ति नै हो। कुनै पनि मानिसले संसारको ठूलो मैं हूँ र सबै काम मैले मात्रै गर्छु भनेर आफैँमा अहंकार गर्नु ठीक होइन।’
जीजीबाका धेरै कुरा सम्झिन्थ्यो ऊ। जीजीबा जस्तो ठूलो र जान्ने मान्छे कोही छैन होला जस्तो लाग्दथ्यो उसलाई। महाभारत पर्वत श्रृंखला र मधेश–तराईबीच चूरे पहाडमा फैलिएको यो बस्तीको सत्य पनि यही थियो। मरिचेको बा भन्दा उसका बाका बा धेरै जान्ने–सुन्ने थिए।
मरिचेको बा, ती विचराको त, के भन्नु र? उनी कलकत्ता भासिएका थिए। उतै बितेछन्। कसैले थाहै पाएन। मान्छे मरेपछि काँचो धागोले बेरेर मरुवा चिठी पठाउने चलन थियो उसबेला। मरिचेका कोही थिएनन् मुग्लानमा। कसले पठाइदेओस् चिठी? मरिचेकी आमा परार बितिन्। मरिचेको आमाले प्राण त्याग गरेको तीन महिनापछि जीजीबाले नारानको पूजा लगाएका थिए घरमा। उनी आफ्नो, अर्काको र सबैको हित र कल्याणका लागि देउ–देउताको पूजापाठ गरिरहन्थे।
काठमाडौं उपत्यकाको टुकुचा र विष्णुमती, धोबीखोला र बागमती, मनहरा र हनुमन्ते। जलस्रोतको धनी भनिने यो देशका शहरहरूमा एक अन्जुली चोखो पानी पिउन समेत पाइँदैन।
जीजीबाले एकदिन मरिचेको छोरालाई सुनाएका थिए, ‘यो संसारको शुरुवातमा बुद्धि र ज्ञान जनावरहरूसँग थियो। मान्छे र जनावरभन्दा माथि गुर्वा हुन्थ्यो। एकदिन गुर्वाले भन्यो, ‘पृथ्वीमा जे पनि छ र जति पनि छ त्यो विना प्रयोजन छैन। कुनै पनि रोगबाट मुक्तिका लागि जंगलमा जरिवुटी छ। मानिस त मानिस भै गयो। उसको जन्म कुनै न कुनै कामका लागि नै भएको छ। यो मानिसको अस्तित्वको कथा हो।’
मरिचेको छोराले जीजीबाका कुरा कत्ति बुझेको थिएन त्यतिखेर। उसले माष्टरलाई जीजीबाको कुरा सुनाएको थियो। माष्टर स्कूलमा स्वयंसेवक शिक्षक भर्ती भएको थियो। ऊ कस्तो स्वयंसेवक थियो भने खाने बस्ने प्रबन्ध गाउँलेले नै मिलाइ दिनुपर्ने। त्यसबापत उसले गाउँको स्कूलमा दिनको एक दुई कक्षा पढाइदिने। त्यो गाउँमा माष्टर कसरी पुग्यो? त्यसको अर्कै कथा छ। पछि कुनैदिन त्यो कथाको पनि पत्र–पत्र खुल्नेछ। अहिलेको कुरा के थियो मरिचेको छोरालाई नै थाहा थिएन।
त्यो स्वयंसेवक माष्टरले स्कूलका विद्यार्थीमध्ये मरिचेको छोरालाई नै मन पराएको थियो। केटो असल र टाठो थियो। ऊ जंगलबाट कहिले कालिजको शिकार गरेर, कहिले तरुल खोस्रेर र कहिले च्याउ टिपेर ल्याउँथ्यो र स्वयंसेवक माष्टरको भान्सामा पुर्याइदिन्थ्यो। वनमा पाइने निगुरो, कुथुर्के र अरु जातका तरकारी कुुन खान हुने हो र कुन विषालु हो? मरिचेको छोरो सबै बोट–बिरुवा चिन्थ्यो।
चारैतिर फैलिएको राजनीतिक हाहाकार र कोलाहलका बीचमा सर्वनामले नेपाली देश र नेपाली जातिको पहिचानको खोजी गर्ने अवसर पाउला त?
मरिचेको छोरालाई उसका जीजीबाले जतिबेला स्कूल भर्ना गर्न ल्याएका थिए त्यो बेला स्कूलहरू तातेका थिए। त्यो तातो मौसममा जीजीबाले स्कूलका हेड माष्टरसँग कुरा गर्दै भनेका थिए, ‘माष्टर बाबु, तपाईंले जुन माटोमा टेक्नु भएको छ नि, यो साधारण माटो होइन। यो माटो हाम्रा पिता, पुर्खाको रगतले भिजेको माटो हो। यहाँ पढ्ने केटाकेटीहरूलाई यो माटोको राम्रो भक्ति गर्न सिकाइ दिनुहोला।’
जीजीबाले हेडसरसँग त्यो बेला जे कुरा गरे त्यसको अनौठो समानता थियो आदिवासी संस्कार र संस्कृतिसँग जोडिएका विचारसँग। अमेरिकन इण्डियन, एशियन, हिमालयन। मैले थामीहरूलाई सम्झिएँ। जिरेल र चेपाङलाई सम्झिएँ। देशमा भएर पनि आफूलाई सावित गर्न नसकेका मानिसहरूको भीडलाई सम्झिएँ। जात र थरका अनेकौं बिम्वहरूलाई सम्झिएँ। कतार, मलेशिया, साउदी अरब, कुवेत र दुवईको घामको तापमा पलपल पग्लिइरहेका नेपालीलाई सम्झिएँ।
त्यसपछि मैले २०४६ सालदेखि अहिलेसम्म परिवर्तनले थुपारेका फोहोरको थुप्रो बोकेर निरन्तर बगिरहेका नदी–नाला सम्झिएँ। काठमाडौं उपत्यकाको टुकुचा र विष्णुमती, धोबीखोला र बागमती, मनहरा र हनुमन्ते। जलस्रोतको धनी भनिने यो देशका शहरहरूमा एक अन्जुली चोखो पानी पिउन समेत पाइँदैन। उपत्यकाका खोलाहरूमा नाम ढुंगामा कुँदिएको एउटा खोला ‘भाचाखुशी’ हो। त्यतिबेलाका शासकहरूले अपराधीहरूलाई भाचाखुशीको किनारामा लगेर छपक्क काट्ने आदेश दिन्थे रे।
अब त्यसको खोजी मरिचेको छोरो सर्वनामले गर्ला कि नगर्ला? चारैतिर फैलिएको राजनीतिक हाहाकार र कोलाहलका बीचमा सर्वनामले नेपाली देश र नेपाली जातिको पहिचानको खोजी गर्ने अवसर पाउला त?
माघ २०, २०७९ शुक्रबार १६:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।