९, ११ र १२ वर्षका नाबालिग बलात्कार गर्ने ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

काठमाडौं: नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका– १० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो।
नाबालिग बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले बताए।
विसं २०७७ असार १५ र साउन ४ मा ९, ११ र १२ वर्षीया तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ गते पक्राउ गरेको थियो। उनलाई जिल्ला कारागारको थुनामा राखिएको थियो।
सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने सफाई दिइएको छ।
आरोपितमाथि तीन वटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुई वटा मुद्दामा पनि कसूर ठहर भएको छ भने सजाय निर्धारण भने बाँकी छ। आरोपित २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा छन्।
विसं २०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा १७ पटक पेशी चढेको थियो।
माघ २०, २०७९ शुक्रबार १३:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।