रामको मूर्ति बनाउन लगिएको कालीगण्डकीको शिला अयोध्या पुग्यो

रामको मूर्ति बनाउन लगिएको कालीगण्डकीको शिला अयोध्या पुग्यो

काठमाडौं: नेपालको कालीगण्डकी नदीबाट उत्खनन् गरी लगिएको शिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्याइएको छ। अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला पुर्याइएको हो।

यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि त्यहाँ पुगेको हो।

अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्त्व गर्दै शिला पुर्याएका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरेका थिए।

ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए। शिलालाई बुधबार नै राम सेवकपुरममा राखिएको छ भने आज बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ दासले जानकारी दिए।

ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि आज देवशिला ग्रहण गर्ने बताए। उनले आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिकरूपमा देवशिला बुझ्ने जानकारी दिए।

यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्यातर्फ अगाडि बढाइएको थियो।

माघ १९, २०७९ बिहीबार ०८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।