आर्थिक अवस्था सुधार गर्न माग गर्दै एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

आर्थिक अवस्था सुधार गर्न माग गर्दै एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं: एकीकृत समाजवादीले आफूलाई जिम्मेवार प्रतिपक्षी दल भएको दावी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई ज्ञापनपत्र बुझाएको छ। देशको आर्थिक अवस्था सुधार गर्न तत्काल कदम चाल्न माग गर्दै एकीकृत समाजवादीले ज्ञापनपत्र बुझाएको हो।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू झलनाथ खनाल, घनश्याम भुसाल, डा. विजय पौडेल लगायत ज्ञापनपत्र बुझाउन उपस्थित थिए।

देशको अर्थतन्त्र सुधार्न तत्काल अल्पकालीन उपाय अवलम्बन गर्नुका साथै दीर्घकालीन उपायहरू अपनाउन ढिलो गर्न नहुने भन्दै ज्ञापनपत्रमा २० बुँदे सुझाव समेत दिइएको छ।

संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न तथा युवा, विद्यार्थी र बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न सुझाव दिइएको छ।

यस्तै कक्षा ८ देखि कक्षा १२ सम्मका पाठ्यक्रममा एक विषय अनिवार्य सीपमूलक तालिम र देशभक्तिपूर्ण पाठहरू राख्न एकीकृत समाजवादीको सुझाव छ।

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन कृषि उत्पादन वृद्धिमा जोड दिन तथा कृषि उपज बिक्रीको प्रत्याभूति गराउन समेत पार्टीले सरकारलाई सुझाव दिएको छ।

यस्तै भौतिक विकास निर्माणको योजना उत्पादन वृद्धितर्फ अति आवश्यकताको क्षेत्र छनोट गरेर, रोजगारी वृद्धि हुनेगरी, युवा श्रमशक्ति देशमै अड्याउने योजनाका साथ खर्च गर्न पनि उनीहरूको सुझाव छ।

यस्तै अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउन नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गर्नुपर्ने एकीकृत समाजवादीको २० बुँदे ज्ञापनपत्रमा उल्लेख छ।

यसैगरी पैदल मार्ग र शहरका विभिन्न स्थानमा सडक व्यापार गर्ने वर्ग समुदायका लागि बिहान-बेलुकी निश्चित उपयुक्त समय निर्धारण गरी व्यवसाय गरी बाँच्ने अवसर दिइयोस् भन्ने पनि एकीकृत समाजवादीको सुझाव छ।

माघ १७, २०७९ मंगलबार ११:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।