जसपाको विधान अधिवेशन: बहसमा पहिचानको मुद्दा 

जसपाको विधान अधिवेशन: बहसमा पहिचानको मुद्दा 

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको गत पुस १८ र १९ गते सम्पन्न राजनीतिक समितिको बैठकले पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको थियो। पार्टीको विधान मस्यौदा समितिले अहिले आफ्नो कामलाई तीव्रता दिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

विधान अधिवेशन मूल रूपमा पार्टीले उठाएको पहिचानको मुद्दा र सांगठनिक संरचनाबारे केन्द्रित हुने बताइएको छ। जसपाको हालको विधानमा केन्द्रीय, प्रादेशिक र स्थानीय तहका विभिन्न सांगठनिक संरचनाहरूको व्यवस्था छ।

खासगरी पहिचानमा आधारित लिम्बुवान, किराँत, मधेश, शेर्पालुङ, नेवा, ताम्सालिङ, मगरात, तमुवान, थरुहट, खसान र दलित/शिल्पी विशेष (१०+१) राष्ट्रिय समितिहरू र सात वटा प्रदेशस्तरीय संरचना (जसपाले भन्ने गरेको प्रशासनिक संरचना) बीच शक्तिको बाँडफाँट र अधिकार क्षेत्रका बारेमा नेताहरूबीच फरक धारणा छन्।

यी दुईखाले संरचनामध्ये राजकीय मामलामा हाल जसपाले प्रदेशस्तरीय समितिलाई कार्यकारी र पहिचानमा आधारित राष्ट्रिय समितिलाई समन्वयकारी हैसियत प्रदान गरेको छ। समग्रमा पहिचानको मुद्दाबारे पुनर्विचार गर्नुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको छ।

यसर्थ पहिचानको मुद्दा जसपाको विधान अधिवेशनको पेचिलो विषय बन्ने देखिएको छ।

माघ १७, २०७९ मंगलबार ११:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।