ग्वार्कोमा कार र ट्याक्सी ठोकिँदा दुई जनाको मृत्यु, ६ घाइते; चालकले रक्सी पिएको देखियो
काठमाडौं: ललितपुर महानगरपालिका- १७ ग्वार्कोस्थित बीएण्डबी अस्पताल नजिकै गए राति कार र ट्याक्सी आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा ६ जना भने घाइते भएका छन्।
दुर्घटनामा परी ट्याक्सीमा सवार ६ जना र कारमा सवार दुई गरी ८ जना घाइते भएका थिए। जसमध्ये ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार काठमाडौं कलंकी बस्दै आएका मोरङका अन्दाजी ३५ वर्षीय धनबहादुर बस्नेतको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो।
अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइते भएका मध्ये कार चालक कलंकी बस्ने झापाको विर्तामोडका ३५ वर्षीय वीरबहादुर विकको अवस्था भने गम्भीर छ। कार चालक विकले रक्सी पिएको खुल्न आएको छ।
ग्वार्कोबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशाबाट आउँदै गरेको बा४च १ नम्बरको कार गए राति साढे १२ बजे आपसमा ठोकिएका थिए।
माघ १६, २०७९ सोमबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।