मलेसियाका गृहमन्त्रीले नेपाल भ्रमण गर्ने

मलेसियाका गृहमन्त्रीले नेपाल भ्रमण गर्ने

काठमाडौं: मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेका छन्। राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीचको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल गरे।

उनीहरूबीच नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा संख्यात्मकसँगै गुणात्मक वृद्धि कसरी गर्ने भन्नेबारे विचारविमर्स भएको थियो।

नेपाली श्रमिकहरू शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यन्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुनसक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी भएको थियो।

उनीहरूले दुईपक्षीय, क्षेत्रीय तथा वहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्द्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने बारेमा छलफल गरेका थिए।

गृहमन्त्री इस्माइलसँग निकट भविष्यमा उनको नेतृत्वमा हुने उच्चस्तरीय नेपाल भ्रमणबारे कुराकानी भएको थियो। भ्रमणका क्रममा मलेसियाको 'फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान' बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीहरूसँग छलफल गर्नेछन्।

माघ १६, २०७९ सोमबार ०८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।