गृहमन्त्री पदकै कारण बिग्रदैछ रास्वपा र सत्ता गठबन्धनकाे सम्बन्ध

गृहमन्त्री पदकै कारण बिग्रदैछ रास्वपा र सत्ता गठबन्धनकाे सम्बन्ध

काठमाडौंः गत शुक्रबार सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै खारेज गरेको थियो।

सर्वाेच्चकाे याे निर्णयसँगै उनको सांसद पद, मन्त्री पद तथा पार्टी सभापति पद समेत गुम्यो। यसपछि आज (आइतबार) नै उनले रीतपूर्वक जिल्ला प्रशासन कार्यालय काठमाडाैं पुगेर नेपाली नागरिकता पुनः प्राप्त गरिसकेका छन्।

नागरिकता लिए लगत्तै रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत बने। आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई सभापतिको जिम्मेवारी दियो। 

रविले याे समस्या सल्टाए पनि उनले राजीनामा दिएकाे गृहमन्त्री पदका कारण रास्वपा र सत्ता गठबन्धनबीचकाे सम्बन्ध बिग्रन सक्ने देखिएकाे छ।

यता रविकाे गृहमन्त्री पद गएपछि सत्ता गठबन्धनमा अब गृह मन्त्रालय कसलाई दिने भन्नेबारे छलफल सुरु भएकाे छ।

यसै विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका थिए।

उता राष्ट्रिय स्वतन्त्र पार्टीले भने सत्ता गठबन्धनकाे भागबन्डामा गृह मन्त्रालय आफ्नो भागमा परेकाले हालकाे अवस्थमा पनि गृह मन्त्रालयको विषयमा निर्णय गर्ने अधिकार आफ्नो मात्रत भएको बताएको छ।

आइतबार केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका महामन्त्री मुकुल ढकालले गृह मन्त्रालयमा रास्वपाबाहेक अरु दलहरुको कुनै अधिकार नभएको उल्लेख गरे।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा जुन समस्या आएको थियो, त्यो हाम्राे समस्या हो। यो समस्या अन्य दललाई परेको समस्या होइन। त्यसैले अन्य दलहरुले यसलाई समस्याको रुपमा लिन जरुरी छैन।’

‘गृह मन्त्रालय रास्वपाले पहिल्यै पाइसकेको अवस्था हाे। त्यसैले यसबारेमा निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ,’ उनले थपे।

ढकालका अनुसार हाल रास्वपामा सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा फेरि छलफल गर्नुपर्ने अवस्था छैन। तर गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने भनेर छलफल गर्न र निर्णयमा पुग्न भने बाँकी रहेकाे उनले बताए।

एमाले अध्यक्ष ओली पनि रविलाई नै गृहमन्त्री पदमा पुनः बहाली गर्न सकारात्मक देखिएका छन्।  तर प्रधानमन्त्री प्रचण्ड भने गम्भीर आरोप लागेकाले रविलाई फेरि गृहमन्त्री बनाउने पक्षमा सकारात्मक छैनन्।  

उनले आइतबार नागरिकता पुन पाए पनि राहदानी दुरुपयोग लगाएका आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अमेरिकी नागरिक रहेकै अवस्थामा उनले नेपाली राहदानी समेत लिएर प्रयोग गरेको प्रमाणित भइसकेको छ।

यसबारे गृह मन्त्रालयमा परेको उजुरी जिल्ला प्रशासन कार्यालयहुँदै जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेको थियो। उनी सांसदको हैसियतमा रहँदा अनुसन्धानमा जुटेको प्रहरी उनी गृहमन्त्री बने लगत्तै निस्क्रिय भएको थियो।

माघ १५, २०७९ आइतबार १९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।