आयतमा रोक लगाएपछि बजारमा नक्कली रक्सीको बिगबिगी, अन्तःशुल्क स्टिकर समेत टाँसेको पाइयो
काठमाडौंः सरकारले मदिरा आयतमा रोक लगाएपछि बजारमा नक्कली रक्सीको बिगबिगि भएको पाइएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले विभिन्न ब्राण्डका नक्कली मदिरा बनाएर बेच्नेलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा निरज उप्रेती, धर्मी पौडेल र गणेश बहादुर रानामगर रहेका छन्। उनीहरुलाई प्रहरीले कुपनडोलबाट पक्राउ गरेको थियो।
बरामद गरिएको नक्कली रक्सीमा गोल्डेन वोक ६ थान, ८८४८ भोड्का ४८ थान, मुग्ल्याङ ४२० थान, २०२० एप्पल ३० थान, खुकुरी रम ९२ थान , रुस्लान भोड्का १३२ थान रहेका छन्।
त्यस्तै उनीहरुकाे खुकुरी रम, डबल ब्ल्याक, रेड लेबल ब्ल्याक लेबल, ज्याक डेनियल, सिग्नेचर ग्रिन, रुस्लान, सिग्नेचर रेड गोल्डेन वक, वल्र्ड दरबार, आइकोनीक भोड्काका खाली बोतलहरु संकलन गरेर ती खाली बोतलमा नक्कली रक्सी भर्ने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्यस्तै, नक्क्कली रक्सीको बोतलमा उनीहरुले अन्तः शुल्क स्टिकर समेत टाँसेको पाइएको छ। कति स्टिकर नक्कली हो कति सक्कली हो नखुले पनि कतिपय स्टिकर एक पटक प्रयोग भइसकेको भेटिएको प्रहरीले जनाएको छ।
उनीहरुले रक्सीकाे लेबललिङ र प्याकेजीङ समेत गर्ने गरेका थिए भने विक्रीका लागि राखिएको नक्कली रक्सी प्रहरीले फेला पारेको थियो।
बरामद गर्नुका साथै उल्लेखित स्टोरहरूका संचालक धर्मी गौडेल सहित निरज उप्रेती र गणेश बहादुर रानामगरलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएकाे महाशाखाले जनाएको छ।
विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन मगर, हरी बली, मनोज खत्री, गौरव तामाङ र गोपिकृष्ण श्रेष्ठ समेतले जिल्ला ललितपुरस्थित महालक्ष्मी न.पा. वडा नं. ५ टिकाथलीमा जस्ताको टहरा भाडामा लिइ स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहिन नक्कली मदिरा बनाय कालो बजारी गर्ने गरेको भेटिएको हो।
नक्कली मदिरा सञ्चालकहरूले यी नक्कली मदिराहरू प्रचलित बजार दरभाउ भन्दा कम मूल्यमा बेचबिखन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनीहरूलाई स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहिन नक्कली मदिराहरू बनाउने तथा सोको कालो बजारी गर्ने कसुरमा जिल्ला प्रहरी परिसर काठमाण्डौंले मुद्दा दर्ता गरी कारवाही गरेकाे थियो।
माघ १५, २०७९ आइतबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।