आर्मीमा भर्ती हुने लाेभमा लाखाैं बुझाउने साेझा ‘बुद्धिमान’हरूलाई ठगीरहेछन् ‘रबिन्द्र’

आर्मीमा भर्ती हुने लाेभमा लाखाैं बुझाउने साेझा ‘बुद्धिमान’हरूलाई ठगीरहेछन् ‘रबिन्द्र’

सुर्खेतः गत वैशाख १८ गते बराहताल गाउँपालिका–६ बिउरेनीका बुद्धिमान विकलाई गाउँकै हेमन्त माझीको फोन आयो।

फाेनमा हेमन्तले उनलाई भने, ‘ए बुद्धिमान तिमी आर्मी बन्छौ भने एक्रजना भित्रका मान्छे भेटिएका छन्। अलि- अलि पैसा लाग्छ फिक्स आर्मी भइन्छ। यस अगाडि पनि मेरा एक दुईजना साथीहरु आर्मी भैसके।’ 

आर्मी बन्नका लागि विगत दुई वर्षदेखि दौडधूप गरिरहेका बुद्धिमान लिखित, स्वास्थ्य सबैमा पास भए पनि मौखिकमा भने फालिंदै आएका थिए।

उनलाई लाग्यो आर्मी भइन्छ भने ऋण लिएर भए पनि पैसा दिउँ। पछि कमाएर तिरिहालिन्छ।

त्यसपछि वैशाखमै उनले आफूलाई आर्मी बनाइदिने रबिन्द्र बहादुर विष्टलाई वीरेन्द्रनगरमा भेटे। रबिन्द्र आर्मीको ड्रेसमै उनलाई भेट्न आएका थिए। चिनजान भयो।

भेटमा रबिन्द्रले तीन लाख रुपैयाँ दिएपछि सिधै तालिममा पठाइदिने बताए। अरु साथीहरु भएपनि सम्पर्कमा ल्याउन भनेपछि बुद्धिमान विश्वस्त भए।

त्यसपछि बुद्धिमानले आफ्ना साथीहरु अश्विन बीसी र प्रकाश गिरीलाई पनि रबिन्द्रको सम्पर्कमा ल्याए।

रबिन्द्रलाई विभिन्न समयमा बुद्धिमानले तीन लाख १० हजार, प्रकाश गिरीले एक लाख ५० हजार र अश्विनले एक लाख ३० हजार रुपैयाँ दिएका थिए।

यी तीनै जनाले बचन समूह र विभिन्न व्यक्तिहरुसँग मासिक सय कडा तीन रुपैयाँ ब्याजमा ऋण निकालेर रबिन्द्रलाई बुझाए।

तीनै जनाले कहिले रबिन्द्रको खातामा पैसा पठाइदिए भने कहिले भेटेर पैसा दिएका थिए। तर पैसा दिएको महिनाैसम्म पनि उनीहरुको नाम आर्मीमा आएन।

हाल १० महिना बितिसक्दा पनि न त उनी आर्मी भए न त रबिन्द्रले पैसा नै फिर्ता दिए।

आर्मी भर्ना सकिएर पनि नयाँ भर्ना खुल्ने बेलासम्म पनि आफू भर्ना नहुँदा मात्रै उनीहरुले थाहा पाएकी रबिन्द्रले ठगेका रहेछन् र उनी नक्कली आर्मी रहेछन्।

‘गाउँकै चिनेको साथीले आर्मी बनाइदिन्छ भनेपछि हामी विश्वासमा पर्यौं। चार महिना बित्दा मात्रै रबिन्द्र नक्कली आर्मी रहेछन् भन्ने थाहा भयो,’ बुद्धिमानले भने, ‘आर्मी बन्ने मेरो ठूलो सपना पूरा हुन्छ भने ऋण गरेरै भएपनि तिर्छु भन्ने लाग्यो। अहिले साहुले घर घेरेका छन्। अब कहाँबाट पैसा ल्याएर तिर्ने?’

त्यही पैसाको कारण आफ्नो घरमा राम्रो सम्बन्ध नभएको बुद्धिमान बताउँछन्। कानुनी पाटोमा जान समेत आर्थिक अभाव हुँदा घरबाट भागेर हिन्नुपर्ने अवस्था आएको अर्का पीडित प्रकाश गिरी बताउँछन्।

‘अहिले हामी त घरबाट समेत अपहेलित भएका छौं। आर्मी बन्छौं भनेर समूह र व्यक्तिबाट ऋण तानेर पठायौं,’ उनले भने, ‘न अहिले आर्मी भइयो, न त साहुको ऋण नै तिर्न सकियो। घरखेत खानका लागि साहुले अत्ताएका छन्।’

रबिन्द्रसँग पछि उनीहरुले आफ्नो पैसा फिर्ता गर्न बारम्बार अनुरोध गरे। रबिन्द्रले बल्ल-तल्ल गरिमा विकास बैंक सुर्खेत शाखाको खाता नम्बर ०७२०१९००७८५९००००००१ को पाँच लाख ६८ हजार रुपैयाँको चेक थमाए।

उक्त चेक साट्न बुद्धिमान र उनका साथीहरु बैंक पुगे। तर, यो खातामा रकम नभएको भन्दै बैंकले फिर्ता पठायाे। चेक बाउन्सको प्रक्रियामा अगाडि बढेका उनीहरुलाई रबिन्द्रले पैसा दिने त परको कुरा फोन समेत उठाउँदैनन्।

यस्तै ठगी धन्दाका कारण रबिन्द्र नेपाली सेनाबाट पदमुक्त भइसकेका व्यक्ति हुन्। उनलाई सेनाको लिखित परीक्षामा नक्कली प्रशिक्षार्थी पठाएको आरोपमा १६ महिना कैद भुक्तानसहित जागिरबाट निकालिएकाे थियाे।

उनले यी तीन जना जस्तै अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको खुलेको छ। तर, अहिलेसम्म उनी पक्राउ परेका छैनन्। उनी सुर्खेतमै बस्दै आएका छन्।

माघ १५, २०७९ आइतबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।