गंगालाललाई शैक्षिक प्रतिष्ठान बनाउन सहयोग गर्छु: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाउन सहयोग गर्ने बताएका छन्। आज शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, 'सम्पूर्ण प्रक्रियागत र त्यसका व्यावहारिक जटिलता के-कति छन् भन्ने कुरा त अध्ययन गर्नुपर्छ। तर यसलाई शैक्षिक प्रतिष्ठानको रूपमा विकसित गर्ने र दक्ष जनशक्तिको विकास गरी देशैभरि मुटुरोगको उपचारको निम्ति विकेन्द्रितरूपमा युनिटहरू खडा गर्ने तपाईंहरूको सपनामा मेरो पूरै समर्थन छ।'
उनले आजै सिंहदरबार गई उक्त प्रक्रियाबारे पहलकदमी लिने पनि बताए। उनले गंगालाललाई शैक्षिक प्रतिष्ठानको रूपमा विकास गर्ने प्रक्रिया अघि बढाउने कुरामा विश्वस्त हुन पनि आग्रह गरे।
उनले गंगालाल देशभरिका जनताको आशा र भरोसाको केन्द्रको रूपमा विकसित भएको पनि बताए। मुटुरोगको सर्वसुलभरूपमा उपचार गर्ने अस्पतालको रूपमा परिचय बनेको भन्दै उनले प्रशंसा समेत गरेका थिए।
यस्तै निरङ्कुशता विरोधी आन्दोलनका शहीद गंगालाल श्रेष्ठको नामसँग जोडिएको हुनाले लोकतन्त्र, सामाजिक न्याय र समानताप्रति संवेदनशील अस्पताल भएको पनि प्रधानमन्त्री प्रचण्डले बताए।
उनले आफ्नो कार्यकालमा सातै प्रदेशमा विशेष अस्पतालहरूको निर्माण गर्ने र मुटुरोग सम्बन्धी उपचारलाई ती विशेष अस्पतालसँग जोड्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताए।
माघ १५, २०७९ आइतबार १३:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।