प्रथम सरस्वती कराँते कपको उपाधि इचाङ्गुनारायण र ब्रह्मास्मी स्कुललाई, क-कसले पाए पदक ?
काठमाडौं: प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधि इचाङ्गुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ। नेपाल वादोरियो कराँते सरस्वती डोजोको आयोजनामा माघ १३ र १४ गते भएको प्रथम सरस्वती कपको सिनियर एण्ड जुनियर करातेको उपाधि सिनियरतर्फ इचाङ्गुनारायण डोजोले जितेको हो।
कुल १४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा इचाङ्गुले दुई स्वर्ण, दुई रजत र पाँच कास्य पदक जित्न सफल भयो। दोस्रो भएको च्याम्पियन मार्सल आर्ट एकेडेमीले दुई स्वर्ण, एक रजत र तीन कास्य हात पार्यो।
तेस्रो भएको मनमैजु डोजोले दुई स्वर्ण, एक रजत र तीन कास्य जित्यो। आयोजक सरस्वती डोजोले भने एक स्वर्ण, पाँच रजत र पाँच कास्यमा चित्त बुझायो।
त्यस्तै जुनियरतर्फ भने ब्रह्मास्मी स्कुल प्रथम भएको छ। ब्रह्मास्मीले ६ स्वर्ण, ६ रजत र सात कास्य हात पार्दा पाँच स्वर्ण, दुई रजत र एक कास्य पदकसहित पाँचपोखरी स्कुल टिम दोस्रो बन्यो।
त्यसैगरी तीन स्वर्ण, पाँच रजत र आठ कास्य जितेको योङहार्ट स्कुल टिम तेस्रो बन्यो। दुई दिन चलेको प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले गरेका थिए।
विजयी खेलाडीहरूलाई मेडल तथा प्रमाण पत्र गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल, वडा अध्यक्ष नारायण सुवेदी, नेपाल कराँते महासंघका महासचिव हरिशरण केसी लगायतले वितरण गरेका थिए।
प्रतियोगितामा विभिन्न जिल्लाबाट २५ वटा स्कुल/ डोजोका ३५० खेलाडीको सहभागिता थियो। सिनियर इभेन्ट्मा क्रमशः रु २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक समेत रहेका सरस्वती डोजोका प्रमुख प्रशिक्षक पुरुषोत्तम पोखरेलले जानकारी दिए।
माघ १५, २०७९ आइतबार १०:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।