धनकुटा महोत्सव घटना: घाइते ३० जनाकै स्वास्थ्य सुधारोन्मुख
काठमाडौं: शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते भएका छन्। ती मध्ये १८ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए।
उनका अनुसार १२ जना धनकुटा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन्। यस्तै प्रतिष्ठानमा उपचार हुन नसकेपछि दुई बच्चालाई भने गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए।
विराटनगर पठाइएका बच्चा र प्रतिष्ठानमा उपचारत ६ जना बालबालिकासहित सबैको स्वास्थ्य सुधारउन्मुख रहेको उनले बताए।
घाइते हुनेमा धनकुटा नगरपालिका –५ बस्ने ३१ वर्षीया विष्णु राई र उनकी ६ वर्षीया छोरा आबिहाङ लिम्बू, ३० वर्षीया बिनिता लिम्बू, वर्ष १३ का सविन लिम्बू, वर्ष ११ का सुनिल लिम्बू, १२ वर्षीया श्रेया कटुवाल, धनपा–७ का प्रकट श्रेष्ठ, ३६ वर्षीया हिरा राणा, ३० वर्षकी आयुषा राई, वर्ष ५० का प्रकाश प्रधान र धनपा ४ का १२ वर्षीया प्रवेश राई रहेका छन्।
यसैगरी अन्दाजी ४५ वर्षकी गोमा कार्की, २३ की अनिषा राई, वर्ष ४२ का नारायण राई, वर्ष ३४ की बुद्धिमायाँ लिम्बू, वर्ष १८ का सविन पौडेल, वर्ष ४२ का सन्दीप शाह, नाम नखुलेको करिब तीन/चार वर्षका एक बालक रहेका छन्।
सुरक्षाका कारण देखाउँदै महोत्सव स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकको तयारी गरिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिए।
आयोजक संस्था उद्योग वाणिज्य सङ्घका अध्यक्ष राईले सबैसँग छलफल गरेर विधिवत् रूपमा महोत्सवको स्थगन गरिने जानकारी दिए।
गायक प्रमोद खरेलको प्रस्तुति हेर्न महोत्सवको मूलगेटबाट मान्छे एकैचोटी प्रवेश गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ। यस्तै ‘हाउजी बिङ्गो’ खेलका कारण पनि महोत्सवमा अत्याधिक भीड भएको थियो।
यही माघ ६ गतेदेखि जारीे प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सव थप दुई दिन थप्ने कार्यक्रम रहेको थियो।
माघ १५, २०७९ आइतबार ०९:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।