कम्बल र च्यावनप्रास बाँड्दै प्रदीप यादवले भने– ‘वृद्ध भत्ता पाउने उमेर ६५ मा झार्न पहल गर्छु’
वीरगञ्ज : पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाल सरकारले ६८ वर्षको उमेरमा दिने वृद्ध भत्ताको उमेरलाई घटाएर ६५ मा झार्न पहल गर्ने बताएका छन्।
पर्साको पर्सागढी नगरपालिकाका ज्येष्ठ नागरिकलाई कम्बल र च्यावनप्रास वितरण गर्दै पूर्वमन्त्री यादवले वृद्धवृद्धाका लागि भत्ता पाउने उमेर ६८ वर्ष भन्दा पनि ६५ वर्ष उपयुक्त रहेकाले संसद् मार्फत पहल गर्ने बताएका हुन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य (सांसद्) पनि रहेका यादवले छोराछोरीहरूले कमाउने आम्दानीको केही रकम अभिभावकका लागि अनिवार्य रूपले छुट्याउनुपर्ने कानूनका लागि पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘आजको युगमा छोरीछोरीहरूले आफ्नो अभिभावकलाई एक समयपछि अवहेलना गर्ने चलन बढ्दै गएको छ,’ उनले भने, ‘अभिभावकको आम्दानीको स्रोत बन्द भएपछि उनीहरू छोराछोरीमाथि आश्रित हुन्छन तर सन्तानले उनीहरूको सबै मागलाई पूरा गर्दैनन्। त्यसैले पनि यस्तो व्यवस्था गर्नु आवश्यक छ।’
पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वामा आयोजित कार्यक्रममा ७० वर्ष उमेर नाघेका १ सय ५० जना वृद्धवृद्धालाई जनही एक–एक थान कम्बल र चवनप्रास वितरण गरिएको थियो।
माघ १४, २०७९ शनिबार १९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।