डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

बेहोसी तथा दुखाइ विशेषज्ञ डा. शिरीष प्रसाद अमात्यले ५५ हजारभन्दा बढि बिरामीलाई बेहोस बनाएर व्यूँत्याएका छन्। त्यसबाहेक दुखाइसम्बन्धी समस्या भएका तीन हजार भन्दा बढि बिरामीको दुखाइ ठिक गरेका छन्। आफ्नो वर्षौंको उपचार अनुभवबाट डा. शिरीषले उकेरासँग केही उपचार अनुभव साटेका छन्।

घटना करिब तीन वर्षअघिको हो।

पाको उमेरकी महिला ढाड र गोडा दुखेर सामान्य हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा थिइन्। आमै ओछ्यानमै थला परेको लामो समय भएको रहेछ। डा. शिरीषकहाँ पुग्नुभन्दा दुई दिनपछि ती आमैको एक महंगो अस्पतालमा नसा च्यापिएको भनेर शल्यक्रियाको गर्ने तयारी भएको रहेछ।

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य जाँच गर्दा डा. शिरीषलाई नसाको समस्या होइन भन्ने पक्का भए।

जोर्नी खिएर दुखाइ भएको पत्ता लागेपछि डा. शिरीषले ती आमैलाई सुईको माध्यमबाट औषधि मात्र दिएनन् विनाशल्यक्रिया ठिक हुने आश्वासनसमेत दिए। यद्यपि डा. शिरीषकाे आफ्नै मनमा भने डर थियो।

दुखाइ व्यवस्थापन सम्बन्धी भारतमा अध्ययन (फेलोसिप) गरेर फर्केपछि उनले गरेको त्यो पहिलो उपचार थियो। तर उने आँटे अनि आमैलाई बेहोस नबनाइ ढाडमा सुई दिए। तीन वर्ष थला परेर ह्विलचेयरमा अस्पताल पुगेकी आमै त सुई दिएको एकै छिनमा नै हिँड्न पो थालिन्। आमा हिँडेको देख्दा छोरा लगायत परिवारका सदस्य पनि दंग परे।

‘विहान ११ बजेतिर ह्विलचियरमा आउनुभएको थियो, एक घण्टापछि त आमा हिँडेरै घर जानुभयो,’ डा. शिरीषले भने।

अध्ययन गरेर नेपाल फर्केर पहिलो बिरामीकै उपचारमा सफलता मिलेपछि डा. शिरीष पनि खुसी भए। आमैको मूल समस्या नसा च्यापिएको नभइ जोर्नी खिएको रहेछ। त्यसैले एक्सरे, सिटी स्क्यान, एमआरआई जस्ता रिपोर्टमा मात्रै पूर्ण रूपमा भर पर्न नहुने उनको सुझाव छ।

ति आमै अहिले पनि फलोअपमा रहेकी र मजासँग हिँडडुल गरिरहेको डा. शिरीषले सुनाए। अहिले पनि बेला–बेलामा खुसी हुँदै ती आमै र उनका परिवारले फोन गर्ने गरेको उनले सुनाए। पछि थाहा पाउँदा त ती आमै डा. शिरीषकै छिमेकी पो रहिछन्।

युवाको अप्रेशन थिएटरमा नै मृत्यु भएपछि...
त्यसो त उपचार गरेकामध्ये सबै बिरामी बचेर डिस्चार्ज हुन्छन् नै भन्ने एकिन हुँदैन। जसमध्ये करिब आठ वर्षअघि पाटन अस्पतालमा करिब २८ वर्षका युवालाई बचाउन सम्भव नभएको घटना सम्झँदा अझै उनको मन चसक्क हुन्छ।

जुम्लाका ती युवालाई पाटन अस्पताल अस्पतालको अकस्मिक कक्षमा पुर्याइएको थियो। परीक्षणका क्रममा युवाको आन्द्रा बटारिएको थाहा भयो। तुरुन्तै शल्यक्रिया गर्नुपर्ने भयो। शल्य चिकित्सकको टिमले बिरामीलाई शल्यक्रिया कक्षमा लगेर डा. शिरीषले युवालाई एनेस्थेसिया दिएर बेहोस बनाए।

शल्यचिकित्सकको टिमले युवाको बटारिएको आन्द्राको शल्यक्रिया गर्न थाले। तर ढिलागरी अस्पताल ल्याएकाले शरीरभरी संक्रमण फैलिसकेको थियो। बचाउन सकिन्छ कि भन्ने झिनो आशामा शल्यक्रिया गरे पनि बचाउन नसकिएको उनले सुनाए। शल्यक्रिया टेबलमा नै युवाको प्राण गयो।

विना शल्यक्रिया चिकित्सककै उपचार
तीन वर्षअघि एक जना चिकित्सकको उपचार गरेको प्रसंग पनि डा. शिरीष कहिल्यै भुल्दैनन्। जतिबेला उनी भर्खर मात्रै भारतबाट दुखाइ व्यवस्थापन सम्बन्धी अध्ययन (फेलोसिप) गरेर नेपाल फर्केका थिए।

करिब ३० वर्षकी महिला डा. शिरीषकहाँ उपचारका लागि पुगिन्। ती महिला एनेस्थेसियोलोजिष्ट विषयकी चिकित्सक रहिछन्। अध्ययनकै क्रममा महिलाको ढाडमा नसा च्यापिएका कारण दुई पटक शल्यक्रिया गरेर उपचार भएको थियो।

तेस्रो पटक पनि ती महिलाको नसा च्यापिएकै समस्या बल्झेछ। तेस्रो पटक शल्यक्रिया गर्न ती महिलालाई त्यति उचित लागेनछ। त्यसैले कुनै अन्य वैकल्पिक उपचार विधि अपनाउन सकिन्छकी भनेर चिकित्सकहरूसँग परामर्श गरिरहेकी थिइन्।

त्यही सिलसिलामा ती महिला चिकित्सक परामर्शका लागि डा. शिरीषकहाँ पुगिछन्। महिलाको स्वाथ्य परीक्षण गरेपछि उनले विनाशल्यक्रिया च्यापिएको नसा ठिक बनाउन सकिने देखे। बिरामी उपचारका लागि तयार भइन्। डा. शिरीषले महिलाको ढाडमा सुईको माध्यमबाट औषधि दिए।

सुईले काम गर्यो। महिलाको ढाडको नसा च्यापिएको समस्या ठिक भइहाल्यो। विना शल्यक्रिया औषधिले नसा च्यापिएको समस्या समाधान भएकी ती चिकित्सक अहिले पनि काम गरिरहेको उनले सुनाए।

एमबीबीएस पढ्न जाने कोटा नै अरुले चैट बनाएपछि....
ललितपुरको मंगलबजारका स्थायी वासिन्दा शिरीष २०३५ मा जन्मिएका हुन्। २०५१ मा जावलाखेलको सेन्टजेभियर्स स्कुलबाट एसएलसी गरेका उनले त्रिपुरेश्वरस्थित विश्वनिकेतन साइन्स क्याम्पसबाट आइएस्सी गरे।

शिरीषलाई डाक्टर बन्ने ठूलो सपना थियो। त्यसैले सरकारी छात्रवृत्ति कोटामा रसियामा एमबीबीएस अध्ययन गर्न जानका लागि छनोट परीक्षा दिए। छनोट भए। दुई नम्बरमा नै शिरीषको नाम निस्किएको थियो। त्यहि अनुसारले तयारी गरिरहेका थिए।

बेला–बेलामा स्वास्थ्य मन्त्रालयमा कहिले अध्ययन गर्न जानुपर्ने हो भनेर सोधिरहन्थे उनी। स्वास्थ्य मन्त्रालयका कर्मचारीबाट ‘जाने पालो आएपछि हामी खबर गरिहाल्छौं नि, तयार भएर बस्नु’ भन्ने जवाफ पाउँथे।

तर, कुरो बिग्रिसकेको रहेछ। छनोट भएको ६ महिनापछि आफू जाने कोटामा अर्कै विद्यार्थी गएको थाहा पाए उनले। मन्त्रालयबाट उनले तीन महिनाअघि नै आफ्नो सिटमा अर्को विद्यार्थी पढ्न गएको जानकारी पाए।

‘मेरो सिटमा अरु मान्छे गएको ६ महिनापछि थाहा पाएँ,’ उनले सुनाए।

त्यसपछि रनाहामा परेका शिरीषले एमबीबीएस अध्ययनको लागि धरानस्थित वीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा शास्त्र अध्ययन संस्थानमा छनोट परीक्षा दिए। तर, दुवैमा छनोट हुन सकेनन्। जसले गर्दा उनी झन् तनावमा परे।

‘एकपटक चट्याङमा परेपछि मेरो मनोविज्ञानमा बाधा पर्यो,’ उनले त्यो बेलाको प्रसङ्ग सम्झँदै भने।

त्यो बेलासम्म उनले आइएस्सी सकेको तीन वर्ष भइसकेको थियो। तीन वर्षसम्म समय खेर गएको महसुस भयो उनलाई। जसले गर्दा उनको घरपरिवारमा समेत तनाव भयो।

तर, शिरीषलाई जसरी पनि डाक्टरी अध्ययन गर्ने इच्छाका कारण उनी सन् १९९९ मा वंगलादेशमा एमबीबीएस अध्ययनका लागि गए। त्यहाँको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चिटागोंगमा भर्ना भएका उनी पढाइ सकेर सन् २००४ मा नेपाल फर्किए। नेपाल फर्केर शिरीषले अस्पतालमा एक वर्ष इन्टर्नसीप गरे।

चीनमा ६ महिना लेक्चरर
डा. शिरीष थप अध्ययन गर्न चीन जाने रहर थियो। नभन्दै इन्टर्नसीप सक्नासाथ उनले एमबीबीएसका विद्यार्थीलाई पढाउनका लागि लेक्चररको जागिरेका रूपमा चीन जाने मौका पाए। एक जना साथीसँग उनी चीन पुगे। त्यहाँ उनले विद्यार्थीलाई करिब ६ महिना एनाटोमी विषय पढाए।

डा. शिरीष चीन जानुको मुख्य उदेश्य भने त्यहाँ पढ्ने वातावरण कस्तो छ भन्ने जान्नु थियो। माहोल बुझेपछि उनलाई चीनमा थप अध्ययन गर्न मन लागेन अनि ६ महिनामा नेपाल फर्किए।

नेपाल आएपछि डा. शिरीष कोभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पतालको हड्डी विभागमा एक वर्ष काम गरे र तीन वर्षसम्म विभिन्न अस्पतालहरूमा काम गरे।

बेहोसीको अध्ययन, पाटनमा जागिर
शिरीषले सन् २००९ मा काठमाडौं विश्वविद्यालयमा स्नातकोत्तर तहको एनेस्थेसिया विषयमा एमडी अध्ययन गर्न थाले। उनलाई खासै यो विषय पढ्न त मन लागेको थिएन। तर, उनले धेरै समय घर्काउन चाहेनन्। विश्वविद्यालयले पोखरास्थित मनिपाल कलेज अफ मेडिकल साइन्सेसमा पढाउँथ्यो। उनी त्यहिँ गए।

एनेस्थेसियोलोजी अध्ययन गरेको चिकित्सकलाई बेहोसीको डाक्टरका रूपमा समेत चिनिन्छ। सन् २०११ मा एमडी अध्ययन सकेपछि डा. शिरीषले तीन महिना करार जागिरेका रूपमा मणिपाल अस्पतालमा नै काम गरे। त्यसपछि काठमाडौं फर्केर ठमेलस्थित मनमोहन मेमोरियल अस्पतालमा ६ महिना काम गरे।

एमडी अध्ययन सकेको करिब एक वर्षपछि नै डा. शिरीष पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा लेक्चररका रूपमा करार जागिरे भए। सन् २०१२ मा जागिर प्रवेश गरेका उनी करिब पाँच वर्षपछि स्थायी भए। हाल उनी त्यहाँ सहायक प्राध्यापकको भूमिकामा समेत कार्यरत छन्।

बेहोसी बनाएर ब्यूँताउँदा मात्रै चित्त नबुझेपछि...
एमडी अध्ययन गरेपछि केही वर्ष उनको मुख्य काम भनेकै शल्यक्रिया गर्नुपर्ने बिरामीलाई औषधि दिएर लठ्याउने अनि शल्यक्रिया सफल भएपछि बिरामी ब्यूँत्याउने भयो। त्यसैगरी आईसीयू व्यवस्थापन गर्नु तथा आईसीयूका बिरामीको उपचार गर्नु, बिरामीको दुखाइ व्यवस्थपन गर्नु उनको दैनिकी थियो।

तर, शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाउने तथा ब्यूँत्याउने सवालमा शल्यचिकित्सकको तजबिजमा काम गर्नुपर्थ्याे। उनलाई भने आफैँले निर्णय लिन मिल्ने र आफ्नो तजबिज अनुसार नै काम गर्न मन लाग्न थाल्यो। सधैँ पर्दा पछाडिको चिकित्सकका रूपमा काम गरिरहन मन लागेन।

त्यसकै उपजस्वरूप उनले दुखाइ व्यवस्थापन (पेन मेनेज्मेन्ट)सम्बन्धी विषय भेटे। त्यसैले भारतको कलकत्तास्थित ‘दर्दिया दी पेन हस्पिटल’ मा पुगेर ‘पेन मेनेज्मेन्ट’ विषयमा एक वर्षे फेलोसिप गर्न थाले डा. शिरीषले।

दुखाइ व्यवस्थापन सम्बन्धी मात्रै बिरामीको उपचार र अध्ययन हुने अस्पतालमा अध्ययन गर्न पाउँदा उनी दङ्ग नहुने कुरै भएन। सुरूवाती दिनमा उनलाई मनमा निक्कै कौतुहलता समेत उब्जियो। भारतमा फेलोसिप गर्न जानुपूर्व उनलाई लागेको थियो–दुखाइ सम्बन्धिको उपचारमा मलाई धेरै ज्ञान छ।

तर, त्यहाँ अध्ययन गर्न थालेपछि उनलाई महसुस भयो– दुखाइको उपचार सम्बन्धी धेरै ज्ञान तथा सीप सिक्न बाँकी नै रहेछ। त्यो अस्पतालमा दुखाइ सम्बन्धी समस्या भएका बिरामीको मात्रै उपचार गरेको देख्दा उनको आँखा खुल्यो।

‘फेलोसिप गर्न गएपछि बल्ल मेरो आँखा खुल्यो,’ उनले सुनाए, ‘दुखाइको उपचार गर्ने मात्रै डाक्टर हुने अस्पताल रहेछ त्यो।’

बंगलादेशमा पढेकाले उनलाई बंगाली भाषाको ज्ञान थियो। जसले गर्दा भाषामा उनलाई समस्या भएन। त्यसो त ‘दर्दिया दी पेन हस्पिटल’ मा फेलोसिप गरिरहँदा डा. शिरीष गुरुहरूको पनि नजरमा परिहाले। उनलाई माया गर्नेमध्येका एक प्राध्यापक थिए, डा. गौतम दास। डा. दास भारतकै दुखाइसम्बन्धी कहलिएका चिकित्सक रहेछन्।

एक वर्ष दुखाई व्यवस्थापन सम्बन्धी अध्ययन गरेर उनी नेपाल फर्के। त्यसपछि पाटन अस्पतालमा एनेस्थेसियोलोजी विभाग अन्तर्गत दुखाइ व्यवस्थापन सम्बन्धी उपचार गर्ने उदेश्यले युनिट खडा गरेर छुट्टै ओपिडी सुरु गरे। जुन अहिलेसम्म निरन्तर छ।

हुन त डा. शिरीष अहिले पनि शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोसी बनाएर ब्यूँत्याउँछन्। आईसीयू व्यवस्थापन गर्छन्। तर, भारतबाट फेलोसिप गरेर नेपाल फर्केपछि एनेस्थेसियोलोजिष्टका रूपमा भन्दा बिरामीको दुखाइ सम्बन्धी उपचारमा नै बढी केन्द्रीत हुँदै आएका छन्।

‘आम्दानी नभएपछि जागिर दिनै मानेनन्’
त्यसो त भारतबाट दुखाइसम्बन्धी उपचार गरेर नेपाल फर्केपछि कतिपय चिकित्सकले नै दुखाइ व्यवस्थापन सम्बन्धी अध्ययनलाई स्वीकार गर्न असहज मानेको सुनाए डा. शिरीषले।

त्यतिमात्रै कहाँ हो र? निजी अस्पतालमा पार्ट टाइमरका रूपमा काम दिन समेत अस्पतालले अस्वीकार गरेको उनको अनुभव छ। विनाशल्यक्रिया नै उपचारबाट ठिक बनाउन सकिने भनेपछि उनलाई अस्पतालले जागिर नै दिँदौ रैनछ।

शल्यक्रिया गर्ने बिरामीलाई विनाशल्यक्रिया ठिक बनाउन सकिन्छ भनेपछि अस्पताल र शल्य चिकित्सकको समेत आम्दानी नहुने भएपछि उनलाई काम पाउनसमेत कठिन भएको थियो रे।

ढाडमा नसा च्यापिएको बिरामीलाई उनी विनाशल्यक्रिया ठिक बनाउने कोसिसमा लाग्छन्। तर, त्यसो गर्दा अस्पताल र शल्यचिकित्सकको ५० हजार देखि डेढ लाख रकमको फाइदा गुम्ने भयो।

‘विनाशल्यक्रिया ५÷१० हजारको सुईले निको बनाएँ भने त बिरामीलाई फाइदा हुन्छ,’ डा. शिरीषले सुनाए, ‘तर, अस्पताललाई त खासै फाइदा हुँदैन।’

त्यसैले आमदानी नभएपछि कतिपय निजी अस्पतालले काम दिनै अस्वीकार गेरको र दिएको कामबाट समेत विभिन्न बहानामा निकालिएको डा. शिरीषले गुनासो गरे।

त्यसो त सबै समस्या दुखाइ व्यवस्थापन सम्बन्धी विशेषज्ञले उपचार गरेर नै ठिक हुन्छन् भन्नेचाहिँ हैन। उपचारपछि बिरामी शतप्रतिशत ठिक हुन्छन् भन्ने पनि छैन। तर, करिब ७० प्रतिशत दीर्घकालीन दुखाइसम्बन्धी समस्या भएका बिरामीको विनाशल्यक्रिया नै ठिक हुने उनको अनुभव छ।

हाइब्रिड डाक्टरको भूमिका
डा. शिरीषले अध्ययनकै क्रममा ऐनेस्थेसियोलोजिष्ट र दुखाइ व्यवस्थापन सम्बन्धी विषय आकाश जमिनको फरक भएको थाहा पाए।

एनेस्थेसियोलोजिष्ट चिकित्सकले तुरुन्तै दुखाइ कम गर्ने काम हुन्छ। शल्यक्रिया गर्दा होस् वा घाउको दुखाइ जस्ता समस्या भएको अवस्थामा एनेस्थेसियोलोजिष्ट चिकित्सकले नदुख्ने औषधि दिने उनले सुनाए।

तुरुन्तै र छोटो समयको दुखाइ सम्बन्धीको उपचारात्मक विधिलाई चिकित्सकीय भाषामा ‘एक्युड पेन मेनेज्मेन्ट’ भनिन्छ। एनेस्थेसियोलोजिष्टका रूपमा पहिले पनि उनी दुखाइसम्बन्धी बिरामीको उपचार गर्थे नै।

तर, उनले जब भारतबाट दुखाइ व्यवस्थापन सम्बन्धी नै फेलोसिप गरे, त्यसपछि भने उनी पृथक भएर दुखाइ व्यवस्थापन सम्बन्धी उपचार गर्न थाले।

दुखाई व्यवस्थापन सम्बन्धी नै विशिष्टिकृत विषय अध्ययन गरेका चिकित्सकको भने दीर्घकालीन रूपमा हुने दुखाइ सम्बन्धी उपचार गर्ने भूमिका हुन्छ।  माइग्रेन, घाँटी तथा ढाडको नसा च्यापिएको, घुँडा खिएर दुख्ने, बाथ, चिसोका कारणले  हुने दुखाइ, उमेर पाको  हुँदै जाँदा शरीरका विभिन्न भागमा दुख्ने जस्ता दीर्घकालीन किसिमका दुखाई सम्बन्धी समस्या हुन सक्छन्।

दुखाइ सम्बन्धी यस्ता दीर्घकालीन समस्याको उपचारका लागि दुखाइ व्यवस्थापन (पेन मेनेज्मेन्ट)मा विशिष्टिकृत अध्ययन गरेका चिकित्सकको विशेष भूमिका हुने उनले सुनाए। 

‘पहिले बेहोसी बनाउँदा हुने छोटो समयको दुखाइ हेर्थें। शल्यक्रियासँग सम्बन्धित दुखाइ हेर्थें,’ डा. शिरीषले भने, ‘अहिले लामो समयको दुखाई हेर्छु।’

विशेषगरी दीर्घकालीन रुपमा हुने दुखाइको कारण पत्ता लगाएपछि दुखाईको प्रकृति अनुसार उपचार विधि अपनाइन्छ। नसा लट्याएर, नसामा करेन्ट लगाएर, फिजियो थेरापीजस्ता विधि अपनाएर लामो समस्यका दुखाइको उपचार गरिने उनले बताए।

माघ १४, २०७९ शनिबार १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।