अदालतकाे फैसलाबाट आत्तिनुपर्ने कुरा छैन : सुवास नेम्वाङ
काठमाडौं : एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नुपरेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधानअन्तर्गत नै हल गरेर अघि बढ्न आफूहरू सक्षम रहेको बताए।
‘अहिले भर्खरका पनि घटनाक्रमहरू छन नि! सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था भयो नि! के हुन्छ?,’ उनले भने, ‘यी सबै घटनाक्रमहरूलाई स्वभाविक रूपमा जनताले बनाएको यो संविधानअन्तर्गत हामी राजनीतिक दलहरूलाई यसलाई एउटा टुंगोमा पुर्याउन सक्षम छौं। पुर्याउँछौं। यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन।’
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैँले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरू सचेत हुनुपर्ने आवश्यक्ता औंल्याए।
माघ १४, २०७९ शनिबार १५:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।