मन्त्रालयबाट बाहिरिँदै गर्दा रविको प्रतिक्रिया ‘म अनागरिक हुँ, केही पनि होइन र कहिँको पनि होइन’

मन्त्रालयबाट बाहिरिँदै गर्दा रविको प्रतिक्रिया ‘म अनागरिक हुँ, केही पनि होइन र कहिँको पनि होइन’

काठमाडौं : नेता रवि लामिछाने आफू परिचय नभएको नागरिक भएको बताएका छन्।

गृह मन्त्रालयबाट निस्कने क्रममा आफू अनागरिक भएको भन्दै आफूसँग दिने कुनै जवाफ नभएको बताएका हुन्। यद्यपि उनले सर्वोच्चको फैसलालाई स्वागत र स्वीकार गर्ने बताए।

सञ्चारकर्मीले सर्वोच्चको फैसलाबारे प्रतिक्रिया लिन खोजेपछि उनले भने, ‘तपाईंहरू एउटा अनागरिकलाई प्रश्न सोधिरहनुभएको छ, कहाँको नागरिकलाई प्रश्न सोध्नुभएको तपाईंहरूले। यतिखेर म अनागरिक छु, अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ?’

उनले आफ्नो भावी योजनाको बारेमा समेत खासै बताउन चाहेनन्।

तपाईं अब के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘थाहा छैन मलाई, एउटा अनागरिकले के गर्छ मैले बुझेकै छैन। म अब केही पनि होइन, कहिँको पनि होइन। मसँग कुनै जवाफ नै छैन, परिचय नभएको अनागरिक हुँ म।’

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै उनीसँग भएको नागरिकता अवैध भएको ठहर गरेको थियो। नागरिकता अवैध भएसँगै उनको पार्टी सभापति, सांसद् र मन्त्री पदसमेत उत्प्रेषणको आदेशले बदर गरेको थियो।

माघ १३, २०७९ शुक्रबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।