गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सुनुवाइ सकियाे, निर्णय कहिले सुनाउने भनेर तय हुँदै
काठमाडौंः सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाकाे अन्तिम सुनुवाइ सकिएकाे छ।
अब यो मुद्दामा बहस सकिए पनि निर्णय आजै सुनाउने वा निर्णय सुनाउने अर्काे मिति तोक्नबारे भने तय हुन बाँकी छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आजकाे सुनुवाइ सुरु भएको थियाे।
आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेसँगै रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो।
गत बुधबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो।
अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए।
नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो।
माघ १३, २०७९ शुक्रबार १३:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।