अध्यक्षबाट राजीनामा दिनुपर्ने भएपछि सेभेनथ्रीसँग सम्झौता गरेँ : क्यान अध्यक्ष चन्द

अध्यक्षबाट राजीनामा दिनुपर्ने भएपछि सेभेनथ्रीसँग सम्झौता गरेँ : क्यान अध्यक्ष चन्द

काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले क्यानको अध्यक्षबाट राजीनामा दिनुपर्ने अवस्था भएपछि सेभेनथ्रीस्पोर्ट्ससँग तेस्रो सम्झौता गर्न बाध्य भएको बताएका छन्।

बिहीबार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा क्यानले आफूले राजीनामा दिनुपर्ने अवस्था आएपछि सम्झौता गरेको बताए। खेल रोकेको अवस्थामा झन् ठूलो दुर्घटना हुने अवस्था आएपछि आफूले खेललाई ९ गते सारेर सम्झौता गरेको उनको भनाइ छ।

‘८ गते लिग सुरु हुने, ७ गते हुँदैन भनेर निर्णय गर्नुभन्दा पहिला क्यानको अध्यक्षबाट मैले राजीनामा अवस्था थियो,’ उनले अगाडि भने, ‘हामी आईसीसीको सम्पर्कमा थियौं, लिग नहुँदा अर्को ठूलो दुर्घटना हुन जान्थ्यो। बीचमा स्पट फिक्सिङले हामीलाई धक्का लागेकै हो, तर लिग सञ्चालन गर्नु पहिलो प्राथमिकता भएकाले हामीले सम्झौता गरेका हौं।’

पहिलो सम्झौतामा प्रतियोगिताको एक दिनअघि सेभेनथ्रीस्पोर्ट्सले रकम दिनेगरी सम्झौता भएकोमा त्यो कार्यन्वयन नभएपछि तेस्रो सम्झौता गरिएको प्रष्टीकरण दिए।
‘५ गते विदेशी खेलाडी आइसके, ८ गतेबाट खेल सुरु हुँदैछ, ७ गते बाँकी रकम आउनुपर्ने थियो,’ उनले भने, ‘त्यहि दिन सबैको चेत खुल्यो कि १५ दिन पहिला दिइसक्नुपर्थ्यो यो रकम त। हामीबाट गल्ती भएको हो। हामीले स्वीकार गर्नुपर्छ यो कुरा।’

सबै कुराको महसुस भएपछि आफूहरूले तेस्रो सम्झौता गरेको अध्यक्ष चन्दले बेलिविस्तार लगाए।

‘त्यसपछि हामीले ७ गते नै तेस्रो सम्झौता गरेर १० कार्यदिनभित्र पूरा रकम भुक्तानी नगरे स्वतः आठवर्षे सम्झौता रद्द हुनेगरी सम्झौता गर्यौं,’ उनले थपे, ‘खेलाडीको वर्क परमिट, प्राइज मनी लगायत पहिलो र दोस्रो सम्झौतामा नखुलेका कुराहरू सेभेनथ्रीको जिम्मा हुनेगरी लेख्यौं।’

माघ १२, २०७९ बिहीबार १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।