क्यानको कुतर्क : ‘पेमेन्ट डिले’ जहाँ पनि हुन्छ, खेलाडीले दुई महिनामा पूरा रकम पाउँछन्
काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले क्रिकेटमा ‘पेमेन्ट डिले’ जहाँ पनि हुने कुतर्क गरेका छन्।
बिहीबार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल टी–२० मा सहभागी टिमका खेलाडीहरूले रकम नपाएको विषयमा स्पष्टीकरण दिँदै उनले भुक्तानीमा ढिलो जहाँ पनि हुने कुतर्क गरेका हुन्।
लिगमा सहभागी ६ टिममध्ये सबैले अझै पारिश्रमिक पाएका छैनन्। पाँचवटा फ्रेन्चाइज टिमका केही खेलाडीले ६० प्रतिशतभन्दा बढि रकम पाइसकेको भन्दै उनले एक साताभित्र सबै रकम भुक्तानी हुने दाबी गरे।
यस्तै उनले एउटा टिमको प्यलेयरले भने अहिलेसम्म ६० प्रतिशत मात्र रकम पाएको बाँकी रकम दुई महिनाभित्र भुक्तानी गरिने जानकारी दिए। यद्यपि त्यो दुई महिनामा पनि उनी आफैँ ढुक्क देखिएनन्।
उनले भने, ‘एउटा टिमको ६० प्रतिशत रकम भुक्तानी भयो बाँकी रकम टिम ओनरले केहि दिनमा, महिना दिनमा अथवा दुई महिनाभित्र पेमेन्ट गर्ने प्रतिबद्धता जनाउनुभाको छ।’
मल्लले अन्तर्राष्ट्रिय खेलहरूमा पनि भुक्तानीमा ढिला हुने भन्दै यसलाई ठूलो विषय बनाउन नहुने तर्क गरे। यद्यपि नियमनकारी निकाय र लिगहरूमा फरक हुने क्रिकेट विश्लेषक बताउँछन्। लिगहरूले लिग जारी रहँदा नै सम्पूर्ण रकम भुक्तानी गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ।
‘अन्तर्राष्ट्रिय अभ्यास हेर्नुहुन्छ भने पनि भुक्तानीमा ढिलो जहाँ पनि हुन्छ,’ उनले भने, ‘एकपटक २०१९ मा बंगलादेशमा भएको एसीसीको प्रतियोगिताको म्यान अफ द म्याचको पैसा अहिलेसम्म आएको छैन। मैले एसीसीलाई पटक–पटक मेल गरिसकेको छु। तै पनि आएको छैन।’
माघ १२, २०७९ बिहीबार १९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।