अदालतको इजलासमा सेलिब्रिटी सिन्ड्रोमको छायाँ, नाबालिग बलात्कारमा प्रमाणमाथि पीडकको हैसियत हावी
काठमाडौं : नवलपुर जिल्ला अदालतबाट बाल यौन दुरुपयाेगमा दोषी ठहरिएका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट नाबालिग बलात्कारमा सफाइ पाए।
दुवै मुद्दाको स्थान मात्र फरक हो, नाबालिग एकै हो। गैँडाकोटमा होटलमा बलात्कार भएको दावी गरिएको थियो। यता तनहुँमा साथीको घरमा। गैँडाकोटमा बलात्कार नभएको तर यौन दुर्व्यवहार भएको ठहर गर्याे। तनहुँमा सफाइ नै दियो। फैसलाको पूर्णपाठ नआएकाले के आधारमा सफाइ पाए खुलेको छैन।
यो दुवै मुद्दामा पीडित र पीडित पक्षका साक्षीबाट अदालतमा बयान बदलिएको थियो तर बदलिएको बयानले प्रमाणको पुष्टि गर्न सकेको थिएन। पीडि तपक्ष होस्टायल बनेको प्रष्टै देखिएको थियो।
बलात्कारको मुद्दामा पीडित होस्टायल भए पनि पीडकले उन्मुक्ति पाएको एकदमै कम मुद्दा छन्। तर, के आधारमा अभियुक्त सजायबाट जोगिए खुलिसकेको छैन।
‘बलात्कार जुन समुदाय र जुन स्तरका व्यक्तिले गरे पनि जघन्य अपराध हो। तर न्यायमूर्तीहरूले पीडकको सामाजिक हैसियत र आर्थिक स्तरलाई हेरेको देखिन्छ’
क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमको क्याप्टेन भएकै बखत केही समयअघि नाबालिग बलात्कारको मुद्दामा पक्राउ परे। पुर्पक्षको लागि थुनामा पुगेका उनलाई २० लाख धरौटीमा उच्च अदालत पाटनले विभिन्न सर्तहरू राख्दै रिहा गर्याे।
धरौटीका सर्त कडा छन् तर उच्च अदालतको तर्क हास्यास्पद। जाहेरी परेको एक महिनासम्म बाहिरै लुकेपछि इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गर्नुपरेको अभियुक्तले प्रमाण नष्ट नगर्ने, मुद्दामा प्रभाव नपार्ने अनि नभाग्ने तर्क गरेर उनलाई धराैटीमा रिहा गर्ने आदेश दिइयाे।
बलात्कारको घटना जसमा अधिकांश प्रमाण अभियुक्तको विपक्षमा छ त्यस्तो घटनामा धतौटी निस्कनु दुर्लभै हो। तर, त्यही दुर्लभ आदेश आयो।
अर्को नाबालिग बलात्कारको घटना, जुन हदम्यादका कारण यौन शोषणमा बदलियो। शौन्दर्य प्रतियोगिता आयोजना गर्ने मनोज पाण्डे बाल यौन दुराचारमा दोषी ठहर हुँदा ६ महिना कैद र ५० हजार जरिवानाको फैसला भयो। मानव बेचविखनमा सजाय निर्धारण हुन बाँकी छ।
नाबालिग बलात्कारका घटना नौलो हैन नेपालमा। तर समाजमा आ-आफ्नो क्षेत्रमा पहिचान बनाएका शाह, लामिछाने अनि पाण्डेको घटनाले समाजलाई तरंगित बनायो।
‘प्रेमि-प्रेमिकामा यस्तो सम्बन्ध सामान्य हो, प्रेगनेन्ट भएको भए पो!’ जस्ता अडियो संवादले करणीलाई स्थापित गराएको थियो।
पाण्डेबाहेक दुवै घटनामा समाजमा प्रभाव पार्ने समूह विभाजित बन्दै पीडककै पक्षमा वकालतमा सक्रिय भएका थिए। यसले न्याय प्रक्रिया प्रभावित हुने शंका बढाए पनि थुनछेकको बहसले पीडितलाई केही आश्वस्त बनाएको थियो। तर, फैसला आउँदा अनि उच्चमा सुनुवाइ हुँदा निरासा बढायो।
पूर्पक्षको आदेश दिँदा निकै सचेत र गम्भीर देखिएको थियो तनहुँ जिल्ला अदालतको इजलास। प्राप्त प्रमाणको व्याख्यामा सजग देखिएको थियो। धरौटीको प्रयास उच्चबाट सफल भएन। तर, त्यही अदालतको इजलासले सफाइको सरप्राइज दियो।
लामिछानेको पक्षमा आएको धरौटीको आदेश कानूनी दफाभन्दा मनोगत व्याख्या हावी देखियो। पीडितभन्दा पीडक चासोमा देखियो। थुनछेकको आदेशमा सेलिब्रिटी सिन्ड्रमबाट जोगिएको अदालत पुनरावलोकन र फैसलामा भने त्यसैबाट प्रभावित भएको शंका बढायो।
अधिवक्ता श्याम विके यी फैसला र आदेश तथ्य र प्रमाणका आधरमा भन्दा पनि पीडक र पीडितको वर्ग र समुदायको आधारमा आएको देखिएको टिप्पणी गर्छन्।
‘बलात्कार जुन समुदाय र जुन स्तरका व्यक्तिले गरे पनि जघन्य अपराध हो। तर न्यायमूर्तीहरूले पीडकको सामाजिक हैसियत र आर्थिक स्तरलाई हेरेको देखिन्छ,’ बिके भन्छन्, ‘यसले त एउटै अपराधमा न्यायलयले पीडकको वर्ग र समुदाय हेर्छ भन्ने नजिर बस्छ। न्यायालयप्रतिको विश्वास भुइँमान्छेमा हराउँछ।’
ठूलालाई चैन सानालाई ऐन
बलात्कारकै मुद्दामा पीडित होस्टायल हुनु र नहुनेले खासै प्रभाव पारेको देखिँदैन। त्यसमाथि नाबालिगको हकमा त झनै प्रभाव नपर्नुपर्ने हो। तर पीडक सेलिब्रिटी भएकै कारण उन्मुक्ति पाएको शंका बढाउनु सुखद संकेत हैन।
पीडित होस्टायल नै भए पनि अदालतले अन्य प्रमाण हेर्नुपर्ने अधिवक्ता मिरा ढुंगानाको भनाइ छ। उनी बयानभन्दा प्रमाण हावी हुनुपर्ने तर्क गर्छिन्।
‘हाम्रो देशमा पीडितलाई सकेसम्म होस्टायल गराइन्छ। यस्तो सामाजिक परिस्थितिमा पहिल्यै जुटेका प्रमाणलाई हेरेर फैसला गर्नुपर्ने हो,’ ढुंगानाले भनिन्, ‘पल शाहको केसमा पूर्ण फैसला आएपछि के आधार रहेछ बुझ्नैपर्ने हुन्छ।’
मुलुकी संहिता सम्बन्धी ऐन, २०७५ अनुसार ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिइ करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ भनि उल्लेख छ।
‘सेलिब्रिटी भएपछि त जस्ता अपराध गर्न पनि छुट पाइने रहेछ भन्ने न्यारेटिभ त बस्ने हैन भन्ने डर पो देखियो।’
यहि आधारमा पल शाहलाई सजाय हुनुपर्ने हो। पीडितको जाहेरी र पीडकले समेत पीडित नाबालिगसँग एउटै कोठामा बसेको स्वीकारेका थिए। स्वास्थ परीक्षण, अडियो संवाद लगायतका प्रमाणले दाबी बलियो बनाएको थियो।
‘प्रेमि-प्रेमिकामा यस्तो सम्बन्ध सामान्य हो, प्रेगनेन्ट भएको भए पो!’ जस्ता अडियो संवादले करणीलाई स्थापित गराएको थियो।
उता क्रिकेटर सन्दीप लामिछानेलाई सोही संहिताको (क)मा ‘करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मजुरीलाई मजुरी मानिने छैन’ भनि उल्लेख छ। सन्दीप आफैँले पीडितलाई गौशालाको एक होटलमा लगेको स्वीकारेका मात्र हैन भिडियाे प्रमाणै छ।
जाहेरी दर्तादेखि प्रहरीको नियन्त्रणमा नआएसम्म सन्दीपको व्यवहार अदालतमैत्री थिएन। उनी विदेशमा रहेको बेलामा जाहेरी पर्याे। उनी नेपाल आउने भनेर अमेरिका पुगेर सम्पर्कहीन भएर बसे। आफ्ना समर्थकलाई आफ्नो पक्षमा उभ्याउन सामाजिक सन्जालमा पटक-पटक लेखेर मुद्दालाई प्रभावित बनाउने काम गरे।
उनी नेपाल आउने सम्भावना कम देखेपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएपछि बाध्य भएर नेपाल आएका थिए।
यस्ता गतिविधि हेरेरै जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठायो। उच्च अदालत पाटनमा पीडक पक्षले २ इजलास सार्दै तेस्रोमा धरौटी निस्कँदा लामिछानेको मानसिक अवस्थालाई हचुवाको भरमा गम्भीर देख्यो तर मनोपरामर्शमा रहेकी पीडितलाई कस्तो प्रभाव पर्ला वास्ता गरेको देखिएन।
अधिवत्ता बिके सेलिब्रिटी भएपछि झन् धेरै सामाजिक दायित्व र संयम हुनुपर्ने ठाउँमा त्यही सेलिब्रिटिको शक्ति देखाएर निर्धामाथि अपराध गर्नेहरु यस्तो फैसलाले हौसिने बताउँछन्।
‘सेलिब्रिटीको आडमा कानूनलाई हातमा लिने प्रवृत्ति बढ्यो,’ बिके भन्छन्, ‘दुवैलाई सजाय हुने कानूनी आधार हुँदा-हुँदै सेलिब्रिटी भएकै कारण उनीहरूलाई कानून नलाएको देखियो, जसले गर्दा सेलिब्रिटी भएपछि त जस्ता अपराध गर्न पनि छुट पाइने रहेछ भन्ने न्यारेटिभ त बस्ने हैन भन्ने डर पो देखियो।’
केही समयअघि ललितपुरका हर्कबहादुर विकलाई नाबालिग बलात्कारको मुद्दामा सजाय तोकियो। विजय सुनुवारविरुद्धको मुद्दामा पीडितले ‘आमाले नभनेको भए उजुरी दिने थिइन’ भनेर बयान फेर्दासमेत अदालतबाट सजाय भएको थियो। तर, त्यही दृष्टिकोण सेलिब्रिटी अभियुक्तको हकमा देखिएन।
माघ १२, २०७९ बिहीबार १५:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।