स्टन्टबाज मन्त्री : स्वास्थ्य राज्यमन्त्री आइसियुमै क्यामरा बोकेर जाने, गृहमन्त्री आइजीसँगको मोवाइल संवाद लाइभ गर्ने
काठमाडौँ : नयाँबानेश्वरस्थित संसद् भवनअगाडि आत्मदाहको प्रयास गर्दै पेट्रोल खन्याएर आगो लगाएर गम्भीर घाइते भएका प्रेमप्रसाद आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की कीर्तिपुरस्थित बर्न अस्पताल पुगिन्।
गम्भीर घाइते आचार्यलाई उपचारका लागि राखिएको अस्पतालको संवेदनिशल कोठामा पुग्दा उनी मात्र थिइनन्। उनीसँगै क्यामराको भिड पनिसँगै थिए।
तोसिमा क्यामराम्यानहरुको भिड लिएर अस्पतालमा गम्भीर अवस्थामा रहेका जलेका बिरामी भेट्न गएको दृश्य सार्वजनिक भएसँगै उनको व्यवहारको तीव्र आलोचना भयो।
तोसिमा आफैँ चिकित्सक समेत हुन्। चिकित्सा पेसा छाडेर उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुरमा उम्मेदवार बनेर जितिन् पनि। अनि अनुभव भएको क्षेत्र भन्दै उनी राज्यमन्त्रीमा नियुक्त भइन्।
तर संवेदनिशल विषयमा पनि उनको चर्चाको मोहको तीव्र आलोचना भयो सामाजिक सञ्जालमा।
अस्पतालको भित्री कक्ष जहाँ जलेर गम्भीर अवस्थामा पुगेका व्यक्तिको उपचार भइरहेको छ त्यस्तो संवेदनशील क्षेत्रमा गएको पनि प्रचार गराउने मोह राखेको भन्दै उनको आलोचना भयो।
अधिकांश सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले आफैँ चिकित्सक समेत रहेकी तोसिमाको यो व्यवहारले आफूहरू निराश भएको भन्दै स्टन्ट बन्द गरेर काममा केन्द्रित हुन आग्रह गरेका छन्।
केही दिन अगाडि सोही पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले चितवन भ्रमणमा कुखुराको चल्लाको तस्करीबारे गुनासो राखेपछि प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई फोन गरेर फोन संवाद लाउडस्पिकरमा राखेका थिए।
अनि प्राय उनीसँग नछुट्ने युट्युवरहरुले सो भिडियोलाई ' गृहमन्त्रीको ठाउँको ठाउँ कारबाही' भन्दै प्रसारण गरेका थिए।
पछिल्लो समय भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ सडकका खाल्डा हेर्दै हिँड्ने गरेका छन्। जलस्रोत मन्त्री राजेन्द्र लिङदेनले अनियमितता गरे समाजमा मुख देखाउन नसक्ने बनाउने भन्दै कर्मचारीलाई धम्क्याइरहेका छन्।
माघ ११, २०७९ बुधबार १७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।