बाजुरा भूकम्प अपडेटः ५८ वटा घरमा क्षति, एक जनाकाे मृत्यु र तीन जना घाइते

बाजुरा भूकम्प अपडेटः ५८ वटा घरमा क्षति, एक जनाकाे मृत्यु र तीन जना घाइते

बाजुराः मंगलबार गएकाे भूकम्पबाट बाजुरा जिल्लामा ५८ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

हिजाे अपराह्न २ः४३ बजे हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएकाे थियाे।

भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ। भूकम्पका कारण जिल्ला सरकारी कार्यालयका भवनहरु चर्किएका छन्।

केही स्थानीयका ढुङ्गा र माटोबाट बनेका घर चर्केर भित्र बस्न नमिल्ने भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताए।

इलाका प्रहरी र प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई गाउँ–गाउँमा क्षतिको विवरण सङ्कलन गर्न पठाउँदा अहिलेसम्म सरकारी र स्थानीयका गरी ५८ घरमा क्षति पुगेको तथ्याङ्क सङ्कलन भएको उनले जानकारी दिएका छन्।

भूकम्पका कारण वनमा घाँस काट्न गएकी गौमूल गाउँपालिका–२ जुरेलीकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएकाे छ।

भूकम्पले हल्लाएर भिरबाट ढुङ्गा खसेर टाउकामा लागेपछि उनकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी, भूकम्पका कारण जिल्लामा तीनजना घाइते भएका छन्।

माघ ११, २०७९ बुधबार १६:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।