भारी हिमपात र शक्तिशाली हुण्डरी अस्तव्यस्त जापान, यातायात प्रणाली नै अवरुद्ध
एजेन्सी : भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ।
जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ। प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा बन्द गरिएका छन् भने केही स्थगन भएका छन्।
बाक्लो तुसारोले गर्दा द्रुत रेल सेवाको गति पनि मन्द भएको छ भने केही सेवामा विलम्ब भएको छ। बुलेट रेलसेवाको हालत पनि यस्तै छ।
इष्ट जापान रेलवे कम्पनीले तोहोकु–शिङ्कासेन सेवाका साथै यामागाता–शिङ्कानसेन सेवा बुधबार बन्द रहने जनाएको छ।
तोकाइदो र सान्यो शिङ्कानसेन क्षेत्रका प्रमुख रेलसेवा बन्द भएका छन्। परिस्थितिको विश्लेषण गरेरमात्र सेवा पुनः शुरू गरिने रेल सेवाका अधिकारीले बताएका छन्।
हिउँ हटाउन राष्ट्रिय राजमार्ग पनि बन्द गर्नुपर्ने अवस्था आएको यातायात मन्त्रालयले जनाएको छ। चालकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन सञ्चालन नगर्न आदेश दिइएको छ।
हिमपातका बेला प्रयोग गरिने टायर प्रयोग गर्न पनि गाडीका चालकलाई मन्त्रालयले आग्रह गरेको छ ।
जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले पनि बुधबारका सयौं उडान रद्द गर्ने योजना बनाएका छन्। उनीहरूले यात्रीलाई यथाशीघ्र आफ्नो उडान सुनिश्चित भएनभएको यकिन गर्न अनुरोध गरेका छन्।
जापानको जल तथा मौसम विज्ञान विभागले देशको तापक्रम अझ घट्ने जनाएको छ। बिहीबार पनि बुधबारको झैँ मौसम सफा नरहने विभागको अनुमान छ।
माघ ११, २०७९ बुधबार १३:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।