पोखरा दुर्घटनाका छ जनाको शव पहिचान गर्न अझै २२ दिन लाग्ने

पोखरा दुर्घटनाका छ जनाको शव पहिचान गर्न अझै २२ दिन लाग्ने

काठमाडौं : पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन अझै २२ दिनभन्दा बढि समय लाग्ने भएको छ।

काठमाडौं ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ।

अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएकोमा बाँकी छ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने बताए।

‘छ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डिएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने।

नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’ परीक्षण गरिनेछ। उनले ‘डिएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना सङ्कलन गर्ने कार्य भइरहेको जानकारी दिए।

यो विधीबाट शव पहिचान गर्न कम्तीमा २२  दिन लाग्नेछ। विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौं ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो।

गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोंचमा दुर्घटना हुदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो।

माघ ११, २०७९ बुधबार १२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।