गृहमन्त्रीले भने- 'प्रेमप्रसाद आचार्यको आत्मदाहको दोषी म'
काठमाडौं : गृहमन्त्री रवि लामिछानेले मंगलबार आत्मदाह गरेका ईलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको दोषी आफू भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै मन्त्री लामिछानेले नयाँ राजनीतिक दल र नेताको रूपमा आशा जगाउन नसक्नुले आफू दोषी भएको बताएका हुन्।
उनले लेखे, ‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।’
उनले मृतक आचार्यको चिर शान्तिको कामना गर्दै परिवारप्रति समवेदनासमेत प्रकट गरेका छन्।
‘प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौं, हामीलाई माफ गर्नुहोला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।’
माघ ११, २०७९ बुधबार १०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।