४५ मिनेटमा झर्नुपर्ने यात्रु साढे दुई घण्टादेखि जहाजमै, काठमाडौंको आकाशमा ११ फन्को मार्दै भुटान एयरलाइन्स

४५ मिनेटमा झर्नुपर्ने यात्रु साढे दुई घण्टादेखि जहाजमै, काठमाडौंको आकाशमा ११ फन्को मार्दै भुटान एयरलाइन्स

काठमाडौं : भुटानबाट आएको राेयल भुटान एयरलाइन्सको विमान काठमाडौंमाथिको आकाशमा ११ फन्को मार्दैछ।

नेपाली समयअनुसार विहान ७ बजेर २५ मिनेटमा उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ७ बजेर ५५ मिनेटमै ल्याण्ड हुनुपर्ने हो। तर ९ बजेर ४० मिनेट जाँदासम्म जहाज ल्याण्ड हुन सकेकाे छैन।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी नपुगेपछि विमानलाई होल्ड गराइएको हो। कार्यालयका सूचना अधिकारी टेकनाथ सिटौलाका अनुसार अहिले २ हजार मिटरको भिजिविलिटी मात्र छ।

राेयल भुटान एयरलाइन्सको जहाज ल्याण्ड हुन कम्तीमा पनि २५ सय मिटरभन्दा बढिको भिजिविलिटी आवश्यक भएको उनले बताए।

राेयल भुटान एयरलाइन्स मात्र होइन दिल्लीबाट काठमाडौंका लागि छुटेको इन्डिगो एयरलाइन्स, दिल्लीबाटै काठमाडौंको लागि उडेको एयर इन्डियाको जहाज पनि होल्डिङमै छन्। दुबईबाट काठमाडौंका लागि उडेको विमान पनि नेपाल पसेपछि होल्डिङमै रहेको छ।

सामान्यतया भुटानकाे पारो विमानस्थलबाट उडेको ४५ मिनेटमा नेपालमा जहाज ल्याण्ड हुनुपर्ने हो। तर उडेको साढे दुई घण्टासम्म विमान ल्याण्ड भएको छैन।

माघ ११, २०७९ बुधबार ०९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।