सूर्य नेपाल एनपीजीए म्याच प्लेकाे क्वाटरफाइनल समीकरण पूरा
काठमाडौंः सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२/२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनल समीकरण पूरा भएको छ।
जारी प्रतियाेगितामा पहिलो चरणको खेल जित्दै नेपालका नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राईसँगै दोस्रो वरियताका साविक विजेता खेलाडी भुवन नगरकोटीले अन्तिम आठमा स्थान बनाएका छन्।
त्यसैगरी, क्वाटरफाइनलमा पुग्ने अन्य खेलाडीमा रबि खड्का, रमेश अधिकारी, धन बहादुर थापा, जयराम श्रेष्ठ, भुवन कुमार रोक्का र दिनेश प्रजापति रहेका छन्।
शुक्रले २०औं वरियताका टंक बहादुर कार्कीलाई सहजै ५/४ ले हराए। शुक्रले क्वाटरफाइनलमा १०औं वरियताका भुवन कुमार रोक्कालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन्।
भुवनले नवौं वरियताका रामे मगरलाई २/१ ले पराजित गरेका हुन्।
दोस्रो वरियताका भुवन नगरकोटीले भने १९औं वरियताका सञ्जोक मोक्तानलाई २/१ ले हराए। उनले अब आठौं वरियताका धन बहादुर थापासँग खेल्नेछन्।
धनले पहिलो चरणमा ११औं वरियताका धरानका बलभद्र राईलाई ३/२ ले पराजित गरेका थिए।
यसैगरी, तेस्रो वरियताका जयराम श्रेष्ठले क्वाटरफाइनलमा पुग्ने क्रममा १७औं वरियताका कृष्णमान राजबाहकलाई अन्तिम होलमा (१-अप) पराजित गरे।
उनले अब सातौं वरियताका दिनेश प्रजापतिसँग खेल्नेछन्। दिनेशले पनि अन्तिम होलमा १२औं वरियताका सुर्य प्रसाद शर्मालाई पराजित गरे।
अर्को खेलमा पाँचौ वरियताका रबि खड्काले १५औं वरियताका प्रदीप कुमार लामालाई २/१ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरे।
उनले १३औं वरियताका रमेश अधिकारीसँग खेल्नेछन्। रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौं वरियताका सञ्जय लामालाई ३/१ ले पराजित गरे।
अब बुधबार क्वाटरफाइनल र सेमिफाइनलका खेलहरु हुनेछन् भने फाइनल खेल बिहीबार हुनेछ।
माघ १०, २०७९ मंगलबार १७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।