निर्यात मात्र हाेइन आयात पनि घट्याे

निर्यात मात्र हाेइन आयात पनि घट्याे

काठमाडौं : चालु आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो।

तथ्याङ्कअनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक प्रतिशतले कमी आएको हो।

गत आर्थिक वर्षको पुससम्म रू नौ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाखको वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रूपैयाँको आयात भएको हो।

साथै गत आवको पुससम्म रू एक खर्ब १८ अर्ब ८५ करोडको वस्तुको निर्यात भएकोमा चालु आवको सोही अवधिमा जम्मा रू ८० अर्ब ८० करोड ७४ लाखको निर्यात भएको हो।

तथ्याङ्क अनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७५ र निर्यातको हिस्सा नौ दशमलव २५ प्रतिशत छ।

चालु आर्थिक वर्षको छ महिनामा व्यापारघाटा रू सात खर्बभन्दा पुगेको छ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैदेशिक व्यापारघाटा रू सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख पुगेको छ।

समीक्षा अवधिमा नेपालले रू आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाखको वैदेशिक व्यापार गरेको छ।

गत आवमा रू आठ खर्ब ८० अर्ब बढीको व्यापारघाटा हुँदा रू ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखभन्दा बढीको वैदेशिक व्यापार भएको थियो। 

माघ १०, २०७९ मंगलबार १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।