संघीयताविरुद्ध बोल्ने मन्त्रीले नै बोल्नु स्पष्टीकरणको विषय हो : प्रधानमन्त्री दाहाल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने विषय भएको बताएका छन्।
मंगलबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताको आन्दोलनको बलमा स्थापित गरिएका विषयमाथि कुनै न कुनै कोणबाट प्रश्न उठाउने काम भएको बताउँदै गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई नभएको स्पष्ट पारेका हुन्।
‘जनताको आन्दोलनको बलमा स्थापित गरिएका विषयमाथि कुनै न कुनै कोणबाट प्रश्न उठाउने काम भएको छ। मेरो क्याबिनेटको एक जना मन्त्रीले संघीयता नै खारेज गर्नुपर्छ भन्ने आयो। यो स्पष्टिकरणको विषय हुन्छ,’ उनले भने, ‘मन्त्रिपरिषदमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई छैन, यो स्पष्टीकरणको विषय हुनेछ। मन्त्रिपरिषद् बाहिर रहेर आफ्ना राजनीतिक गतिविधि अघि बढाउन पाइन्छ। यो छुट सबैलाई छ। तर मन्त्रिपरिषदमा बस्ने अनि संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध बोल्ने छुट कसैलाई छैन।’
यस्तै उनले प्रदेशमा ठूलो मन्त्रिपरिषद बनाउँदा संघीयता विरोधीहरूले प्रश्न उठाउने अवसर पाएको भन्दै १० प्रतिशतसम्म मात्रै मन्त्री बनाउने बताए।
उनले भने, ‘मेरो नेतृत्वमा सरकार बनिसकेपछि बडो दृढताका साथ भनेका छौं। १० प्रतिशत भन्दा बढी मन्त्री बनाइने छैन, मन्त्री घटाउने । एउटा मन्त्रालय घटाउँदा करोडौं वचत हुन्छ।’
माघ १०, २०७९ मंगलबार १५:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।