आफ्नो हत्याको निर्देशन दिने प्रचण्डको स्यालुट हेरिरहेको कृष्णमोहनको प्रतिमा

आफ्नो हत्याको निर्देशन दिने प्रचण्डको स्यालुट हेरिरहेको कृष्णमोहनको प्रतिमा

काठमाडौं : युद्ध मैदानमा हैन श्रीमती र बडीगार्डसँगै बिहानी हिँडाइमा थिए सशस्त्र प्रहरीका संस्थापक प्रमुख कृष्णमोहन श्रेष्ठ। ललितपुरको बागडोलमा २०५९ माघ १२ गते हिँड्दाहिँड्दै माओवादीको आक्रमणमा उनी मात्रै हैन उनको श्रीमती नुडुप श्रेष्ठ र अङ्गरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक सूर्यप्रसाद रेग्मी समेत मारिए।

नेपाल प्रहरी मात्र माओवादी विद्रोही विरुद्ध हाबी हुन सकेन। दरबारको प्रत्यक्ष नियन्त्रणमा रहेको सेनाले नागरिक सरकार प्रमुखको निर्देशन नमानेपछि सेना अनि प्रहरी नेतृत्वको असहमतिमै अर्ध सैनिक बल सशस्त्र पन्तका प्रहरी बल गठन भएको थियो।

 

माओवादीका दृष्टिकोणमा आफू विरुद्ध लड्न बनाएको बल। त्यसैको बदला थियो संस्थापक प्रमुखकै हत्या। त्यो पनि द्वन्द्वसँग सरोकारै नभएको निहत्था नुडुपसहित।

सोमबार त्यही सशस्त्र प्रहरी बल गठन भएको २२ वर्ष भयो। अनि प्रधानमन्त्रीको हैसियतमा सशस्त्र प्रहरी बलको हलचोकमा रहेको हेडक्वाटरमा पुगेर प्रचण्डले उनै कृष्णमोहनको सम्मानमा स्यालुट गरे।

प्रचण्ड प्रधानमन्त्री भएको तेस्रो पटक हो। तर हलचोक जान जुरेको थिएन। यस अगाडि सशस्त्र विद्रोहमा जोडिएका कृष्णबहादुर महरा, जनार्दन शर्मा, शक्ति बस्नेत हलचोक पुगे पनि विद्रोहका सुप्रिम कमान्डर प्रचण्ड पुगेका थिएनन्।

उनी पनि पुगे सोमबार गृहमन्त्री रवि लामिछानेलाई साथमा लिएर। अनि प्रधानमन्त्रीको हैसियतमा कृष्णमोहनको प्रतिमामा पुष्पगुच्छा चढाएर सलाम गरे उनको वीरताको सम्मानमा।

श्रेष्ठको जन्म वि.सं. २००३ साल फागुन ३ गते सङ्खुवासभाको चैनपुरमा भएको थियो। उनी वि.सं. २०२७ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरे।

सेना र प्रहरीका मिलाएर अर्ध सैनिक बल गठन हुने भएपछि एकतह बढुवा लिएर उनी सशस्त्र प्रहरी बलमा गएर २०५७ साल माघ १९ गते बलको संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक बनेका थिए।

नेपाली सेनाका १२० र नेपाल प्रहरीका १० हजार सुरक्षाकर्मीलाई सरुवा गरेर सशस्त्र बल गठन गरिएको थियो। उनी प्रमुख बनेको २ वर्ष नपुग्दै हत्या गरियो। जसको निर्देशनमा उनी मारिए आज उनै प्रचण्डले उनै कृष्णमोहनको सम्मानमा स्यालुट गरेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा त्यसको चर्चा भइरहेको छ। द्वन्दकाल सम्झायो प्रचन्डको स्यालुटले।

माघ ९, २०७९ सोमबार २२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।