बिपी कोइराला प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र नक्कली प्रोफेसर रहेको भन्दै अख्तियारले मुद्दा दर्ता गर्‍यो

बिपी कोइराला प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र नक्कली प्रोफेसर रहेको भन्दै अख्तियारले मुद्दा दर्ता गर्‍यो

काठमाडौँ : प्राध्यापक नभए पनि आफ्नो नामको अगाडि प्राध्यापक पदको प्रयोग गरेर नपाएको पदको दाबी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

डा ज्ञानेन्द्रमान सिंह कार्कीले डा. ज्ञानेन्द्र गिरीलाई प्रोफेसर पदको अनुमोदनको लागि काठमाडौँ विश्वविद्यालयमा सिफारिस गर्नसक्नेमा नियुक्ति दिएको भन्दै अख्तियारले कार्कीलाई समेत मतियारको रूपमा कारबाही गर्न माग गरेको छ।

गिरी प्राध्यापक हैनन्। तर उनले आफ्नो नामको अगाडि प्राध्यापक पद लेख्ने गरेका थिए। नपाएको पद पाएको भन्दै प्रयोग गर्नु पनि नीतिगत भ्रष्टाचारभित्र पर्छ।

उपकुलपतिमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा बदनियत साथ आधिकारिक निकायबाट प्राप्त नगरेको, नपाएको ओहदा पाएँ भनी प्रोफेसर पद प्रयोग गरेको देखिएको दाबी छ।

डा. गिरीले गरेको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएको भन्दै अख्तियारले उनलाई सोही दफा अनुसार कारबाही गर्न माग गरेको छ।

उक्त दफामा नपाएको ओहोदा पाएँ भन्नेलाई एक वर्षदेखि २ वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ।

अख्तियारले गिरी सार्वजनिक संस्थाका पदाधिकारी रहेकाले थप ३ वर्ष कैद गर्न माग समेत गरेको छ।

माघ ९, २०७९ सोमबार १८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।