टाइगर कप भलिबलः एपिएफकाे लगातार दाेस्राे जित
पोखराः तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा साेमबार त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले पुरुषतर्फकाे खेल जितेका छन्।
पोखरा रंगशालामा जारी प्रतियोगितामा सोमबार विभागिय टोली आर्मीले विदेशी टोली सेन्ट जोसेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३–० को सोझो सेटमा हरायाे।
आर्मीले सेन्ट जोसेफ वाज स्पोर्टस क्लब श्रीलंकाविरुद्धकाे पहिलो सेट २५–२०, दोश्रो सेट २५–१६ र तेश्रो सेट २५–१० ले जितेकाे हाे।
एपिएफले भने अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पाखा लगायाे।
पुलिसविरुद्धको खेलमा पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपिएफले दोश्रो सेट भने २५–२१ ले पुलिसलाई सुम्पिन पुग्यो।
यसपछि तेश्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले जित्दै एपिएफले खेल जितेकाे हाे। एपिएफले प्रतियाेगितामा लगातार दुई खेल जित्दै ६ अंक बटुलेको छ।
यसैगरी, महिलातर्फ एपिएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ। पहिलो सेट २५–११ ले जितेको एपिएफले दोश्रो सेट २५–१९ र तेश्रो सेट २५–१६ ले जित्दै विजयी सुरुवात गरेको हाे।
माघ ९, २०७९ सोमबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।