रास्वपाका १४ विभाग र समितिमा एक जना मात्र महिला नेतृ

रास्वपाका १४ विभाग र समितिमा एक जना मात्र महिला नेतृ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका १४ आयोग, समिति र विभागमा एक जना मात्र महिला नेतृले नेतृत्व पाएकी छन्।

केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको बैठकले दुई आयोग, तीन समिति र नाै विभागमा प्रमुख तोक्दा एक जना मात्र महिला नेतृ तोकेको हो।

बैठकले मानवीय विकास प्रवर्द्धन विभागको प्रमुखमा कुशुम महर्जन तोक्नुबाहेक अन्य कुनै पनि विभाग, समिति र विभागमा महिलालाई नेतृत्व दिएको छैन।

पार्टीमा रहेका दुई आयोगमध्ये बैठकले केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल र केन्द्रीय लेखा आयोग प्रमुखमा अभिषेक घिमिरेलाई जिम्मेवारी दिएको छ।

केन्द्रीय अनुशासन तथा आचरण समिति प्रमुखमा भरतमणि देवकोटा र सदस्यहरूमा रामहरि सुवेदी, रमाकान्त रिमाल, यज्ञमणि न्यौपाने रहेका छन्।

विवाद समाधान समिति प्रमुखमा विष्णुकुमार श्रेष्ठ र पुनरावेदन समिति प्रमुखमा विपिनकुमार आचार्य र सदस्यमा दिपक बोहरा छन्।

पार्टी महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकाललाई नीति तथा विचार विभाग प्रमुख तोकिएको छ।

अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा विपिनकुमार आचार्य तोकिँदा प्रशिक्षण विभाग प्रमुखको जिम्मा मुकुल ढकाललाई दिइएको छ।

संगठन विभाग प्रमुखमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र उप–प्रमुखमा विष्णुकुमार श्रेष्ठ तथा सचिवमा शंकर श्रेष्ठ मनोनित भएका छन्।

उत्पादन प्रवर्द्धन विभाग प्रमुखमा रामकृष्ण भट्टराई, विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुखमा अरनिको पाँडे तोकिएका छन्।

केन्द्रीय आरएटी संयोजन विभाग प्रमुखमा विष्णुकुमार श्रेष्ठ र सूचना तथा प्रविधि विभाग प्रमुखमा विपिनकुमार आचार्य मनोनित भएका हुन्।

समावेशीता र समानताको चर्को बहस गरेको पार्टीभित्रै समावेशीताको यो स्थितिलाई चासोका साथ हेरिएको छ।

माघ ९, २०७९ सोमबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।