गण्डकीमा १२ वटा मन्त्रालयलाई घटाएर ७ बनाउने मन्त्रिपरिषद्को निर्णय

गण्डकीमा १२ वटा मन्त्रालयलाई घटाएर ७ बनाउने मन्त्रिपरिषद्को निर्णय

पोखराः गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीमा १२ वटा मन्त्रालयलाई घटाएर ७ वटा मन्त्रालय बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी बिनाविभागीय मन्त्री सिता सुन्दासले बताइन्।

सत्ता साझेदार दलको आइतबार बसेको बैठकमा गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति गरेकोमा मन्त्रिपरिषद्को बैठकले औपचारीकता दिएको हो। 

प्रवक्ता सुन्दासका अनुसार अब गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कृषि तथा जलस्रोत मन्त्रालय रहने भएका छन्।

यसअघि रहेका युवा तथा खेलकुद, स्वस्थ्य मन्त्रालय, जलस्रोत तथा सिंचाई, कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय र उद्योग, वन तथा वातावरण मन्त्रालयलाई मर्ज गरिएको छ। 

मन्त्रालय घटाएर ७ वटामा झारिएपछि एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, माओवादीले २ र राप्रपाले १ मन्त्रालय पाउने सम्भावना देखिएको छ।

माघ ९, २०७९ सोमबार १६:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।