पहिले फिक्सिङकाे कुरा झुटो हाे भन्ने क्यान दुई क्रिकेटर पक्राउ परेपछि भन्छ- सीआईबीलाई हाम्राे साथ थियाे
काठमाडौंः नेपाली क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारी नेपाल टी-२० लिगमा फिक्सिङ गरेको आरोपमा पक्राउ परेका छन्।
सोमबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई नेपाल टी-२० लिगमा फिक्सिङ गरेको आरोपमा पक्राउ गरेको जनाएको छ।
नेपालकाे राष्ट्रिय टिममा पनि परिसकेका आदिलले टी-२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए भने मेहबुबले यस लिगमा खेलेका थिएनन्।
डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा रहेकाे सीआईबीकाे पाँच सदस्यीय छानबिन समितिले फिक्सिङ भएको प्रमाण भेटेपछि यी दुई क्रिकेटरलाई पक्राउ गरेको हो।
गत महिना नेपाल क्रिकेट संघ क्यानले पहिलाे पटक आयाेजना गरेकाे नेपाल टी-२० लिगमा ‘म्याच फिक्सिङ र स्पट फिक्सिङ’ भएकाे आरोप लागिरहेकाे थियाे।
तर क्यानले फिक्सिङकाे कुरा झुटो भएकाे र यस विषयमा प्रमाण लिएर आउन अनुराेध गरेकाे थियाे।
सीआईबीले दुई खेलाडीलाई पक्राउ गरेपछि भने यस कार्यमा क्यानले पनि सहयाेग गरेकाे संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए।
उनले भने, ‘मैले पनि थाहा पाए, दुई खेलाडी पक्राउ परे भनेर। हामीले याे लिगमा फिक्सिङकाे हल्ला चलेपछि अनुसन्धानका लागि प्रहरीलाई खबर गरेका थियाैं। याे पुरै अनुसन्धानमा हाम्राे साथ सीआईबीलाई थियाे।’
उनले याे राज्य र क्रिकेट खेलविरूद्ध कै गम्भीर अपराध भएकाे बताएका छन्।
यसअघि भने क्यानले प्रमाण नभइ संघ र राष्ट्रको नाममा भ्रामक सूचनाहरू नफैलाउन आग्रह गरेको थियाे भने फिक्सिङ भएकाे भेटिएमा प्रमाणसहित उजुरी गर्न भनेकाे थियाे।
नेपालकाे आधिकारिक घरेलु फ्रेन्चाइज लिग, नेपाल टी-ट्वान्टी लिग सुरु हुनुभन्दा पहिलेदेखि नै विवादमा थियाे।
खेल दाैरान टीयू मैदान कीर्तिपुरबाट नै सट्टेबाजी (बेटिङ) भइरहेकाे समाचार आएपछि विवाद झन् बड्न थालेकाे थियाे।
लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले नै लिगमा फिक्सिङ भएको आरोप लगाएपछि भने यसले ठूलाे रुप लियाे।
क्यानका पदाधिकारीहरूलाई भन्दासमेत केही नभएपछि आफूले भिडियो बनाएको भन्दै सचिनले नेपाल टी–ट्वान्टी फिक्सरहरूको हातमा गएको र यसले नेपाली क्रिकेटलाई बिगार्न सक्ने धारणा राखेका थिए।
यसपछि नेपाली क्रिकेट टिमका पूर्वकप्तान एवं नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सका कप्तान रहेका ज्ञानेन्द्र मल्लले पनि आफ्नो टिमलाई म्याच फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको यस लिगको सञ्चालनको जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले पाएको थियाे।
सेभेन थ्री स्पोर्टस नामक कम्पनी भारतमासट्टेबाजी (बेटिङ) गर्नको लागि दर्ता भएको कम्पनी हो। सट्टेबाजी भएपछि म्याँच फिक्सिङ हुन सक्ने सम्भावना पनि बढी हुने गर्छ।
फिक्सिङकाे निकै चर्चा भएपछि गृहमन्त्री रवि लामिछाने पनि नेपाल टी-ट्वान्टी लिगबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका थिए।
माघ ९, २०७९ सोमबार १३:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।