यतीको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने
काठमाडौं: नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष स्व. त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ। सङ्घका कार्यवाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज बसेको बैठकले समितिका संस्थापक अध्यक्ष स्व. पौडेलको स्मृतिमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए।
पत्रकार महासङ्घ गण्डकीले पाँच लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी पाँच लाख प्रदेशअन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकसँग समन्वय गरेर जुटाउने उनले बताए।
हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ। पुरस्कारका लागि आवश्यक थप कार्यविधि पनि बनाइने जनाइएको छ।
यसैबीच पत्रकार महासङ्घ गण्डकीले आजै स्वर्गीय पौडेलको निवासमा पुगेर श्रद्धाञ्जलि सभा गरेको छ। श्रद्धाञ्जलि सभामा कावा अध्यक्ष शर्माले गण्डकी प्रदेश मात्र नभइ सिङ्गो पत्रकारिताको क्षेत्रमा उनको महत्वपूर्ण भूमिका रहेको बताए।
गत माघ १ गते पोखराको सेती नदीको खोंचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पौडेलको निधन भएको थियो।
पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य र पत्रकार महासङ्घ गण्डकीको सल्लाहकार समेत थिए। उनी दुई दशकदेखि पत्रकारितामा आबद्ध थिए। उनले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनलगायतका मिडियामा काम गरिसकेका थिए।
उनी निधन हुनुअघि पोखरा हटलाइन दैनिकको प्रकाशक/सम्पादक थिए।
माघ ९, २०७९ सोमबार १३:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।