प्रचण्डको छोरी-ज्वाइँलाई नै सरकारी सुविधा: ज्वाइँ प्रदेश मन्त्री, छोरी स्वकीय सचिव

प्रचण्डको छोरी-ज्वाइँलाई नै सरकारी सुविधा: ज्वाइँ प्रदेश मन्त्री, छोरी स्वकीय सचिव

काठमाडौं: जब-जब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सत्तामा पुग्छन् पारिवारिक मोहले प्रायः विवादमा आइरहन्छन्। यसअगाडि बुहारी बिना मगरलाई मन्त्री बनाउँदा आलोचित भएका थिए उनी।

उनले छोरी रेनु दाहाललाई भरतपुर महानगरको मेयरको उम्मेदवार बनाए र पाँच दलको समर्थनमा रेनु निर्वाचित समेत भइन्। यसपटक अर्की छोरी गङ्गाको पालो आएको छ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा गङ्गाका श्रीमान् जीवन आचार्य प्रदेश १ मा मन्त्री नियुक्त भइसकेका छन्। प्रचण्ड परिवारसँगको नाताबाहेक राजनीतिमा उनी खासै सक्रिय छैनन्। ज्वाइँकै हैसियतमा प्रदेश सभाको टिकट पाए। पाँच दलको समर्थनमा जिते र ससुराको साथले मन्त्री भए।

बालुवाटारस्रोतका अनुसार जीवन प्रधानमन्त्रीको मुख्य स्वकीय सचिव बनेर श्रीमान्-श्रीमती नै प्रधानमन्त्री निवास बालुवाटार बस्न चाहन्थे। तर प्रचण्डले त्यसमा रुचि देखाएनन्। बरू प्रदेश १ को मन्त्री नियुक्त गराए।

उता प्रचण्डले छोरी गङ्गालाई स्वकीय सचिवमा नियुक्त गरेका छन्। प्रचण्डले सात जनालाई सचिवालयमा नियुक्त गर्दा गङ्गा स्वकीय सचिव बनिन्।

प्रमुख स्वकीय सचिवको जिम्मा सन्तकुमार दरैले पाएका छन्। स्वकीय सचिवमा गङ्गासँगै रमेश मल्ल छन्।

प्रचण्डले स्वकीय सहसचिवमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेललाई नियुक्त गरेका छन्। शर्माको जिम्मेवारी प्रेस संयोजनको र तिमिल्सिनाको प्रेस विज्ञको हो।

माघ ९, २०७९ सोमबार ०९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।