टाइगर कप भलिबल प्रतियोगितामा घरेलु टोली गण्डकीकाे विजयी सुरुवात
पोखराः पोखरामा आजदेखि सुरु भएको तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ।
पोखरा रंगशालामा भएको खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो। गण्डकीले पुलिसलाई २५–२३, २५–२० र २५–१६ ले हरायाे।
यस्तै, पुरुषतर्फको पहिलो खेलमा विभागिय टिम नेपाल एपिएफ क्लबले साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ।
पहिलो सेट गुमाए पनि उत्कृष्ट पूनरागमनका गर्दै एपिएफ खेलमा २०–२५,२५–२२,२६–२४,२५–१९ ले विजयी भएको थियो।
महिलातर्फको खेलमा भने त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। न्यू-डायमण्ड स्पोर्टस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो। आर्मी २७–२५, २५–१७ र २५–२३ को सेटमा विजयी भएको थियो।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ।
राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउन लागेकाे हाे।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ।
माघ ८, २०७९ आइतबार २०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।