आफन्तकाे घर जान हिंडेका जनकपुरका २ युवक फर्किएनन्, भारतमा अपहरणपछि हत्या

आफन्तकाे घर जान हिंडेका जनकपुरका २ युवक फर्किएनन्, भारतमा अपहरणपछि हत्या
तस्बिरः टुडे खाेज

जनकपुरः जनकपुरधाम उपमहानगरपालिकाका दुई युवकको भारतमा हत्या भएको छ। भारतमा अपहरणमा परेका उनीहरूकाे अपहरणपछि हत्या भएकाे हाे।

हत्या हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का २२ वर्षीय विष्णु साह र वडा नम्बर ८ का २५ वर्षीय रोहित साह रहेकाे प्रहरीले जनाएकाे छ।

राेहित र विष्णु गत पुस २७ गते भारतकाे सीतामढी जिल्लाकाे परिहार गाँउमा रहेकाे रोहितको आफन्तकाे घरमा जान भनेर हिंडेका थिए।

तर त्यसपछि बेपत्ता रहेका उनीहरूकाे परिवारलाई अज्ञात समूहले फाेन गरेर ५० लाख रुपैयाँ फिरौती मागेकाे बताइएकाे छ।

यसपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। नेपाल र भारतका प्रहरी मिलेर उनीहरूकाे खाेजी गर्दा आइतबार बिहान दुवै युवकको शव भारतकाे सीतामढी जिल्लाको पर्सा गाउँमा भेटिएकाे थियाे।

प्रहरीका अनुसार उनीहरूकाे शव खाल्टो खनेर गाडेको अवस्थामा भेटिएकाे हाे। परिवारका सदस्यले शवकाे पहिचान गरिसकेका छन्।

भारतीय प्रहरीले यस घटनामा सामेल भएकाे आरोपमा तीन जनालाई पक्राउ गरेको छ भने धनुषा प्रहरीले पनि दुई जनालाई समातेकाे छ।

माघ ८, २०७९ आइतबार १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।